ठिनीमा ट्रक दुर्घटनाः दुईको मृत्यु, चार घाइते

Posted on: 18 Jul, 2021

तारानाथ आचार्य, साउन ३, बलेवा (रासस) । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग१ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल  भत्किँदा आज बिहान दुर्घटना भएको थियो  । 

ट्रकमा सातजना सवार रहेका बताइएको छ । मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुल गङ्गा गाउँपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय  चित्रबहादुर श्रेष्ठ र उहाँकी श्रीमती अन्दाजी २६ वर्षीया मोनिका श्रेष्ठ रहेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक जीतबहादुर केसीले जानकारी दिनुभयो । 

नवलपरासी जिल्ला विनय त्रिवेणी गाउँपालिका–३ बस्ने ट्रक चालक ३६ वर्षीय शिवराम ठाडा मगर सामान्य अवस्थामा रहेको उहाँले बताउनुभयो ।

चालकलाई  नियन्त्रणमा लिइएको जनाइएको छ ।  घाइते हुनेमा बागलुङ जिल्ला ढोरपाटन नगरपालिका– २ बस्ने २२ वर्षीय सुशील घर्तीमगर, २५ वर्षीय लुद्रबहादुर कामी रहेका छन् । उहाँहरु मजदूरीका लागि मुस्ताङ पुग्नुभएको थियो । 

त्यसैगरी पर्वत जिल्ला जलजला गाउँपालिका–४ का १८ वर्षीय सहचालक दिनेश दर्जी र ओखलढुङ्गा जिल्ला सिन्चीदोम्बा गाउँपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दावा शेर्पा  छन् । उहाँहरुको जोमसोम जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था सामान्य रहेको ट्राफिक कार्यालयले जनाएको छ । ट्रकमा १०० बोरा सिमेन्ट, चार थान प्लाइउड र ५० वटा फलामको ट्रस पाइप रहेको सहचालक दर्जीले जानकारी दिनुभयो । जीर्ण भएको काठको कच्ची पुलले ट्रकको भार थाम्न नसक्दा उक्त दुर्घटना भएको जनाइएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!