धादिङ र मनाङका यी उम्मेदवार जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्

Posted on: 15 May, 2022
जेठ १, काठमाडौँ । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ । पालिकादेखि वडा कार्यालयको समेत अन्तिम मतपरिणाम आइरहेको छ । 
सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा चलिरहेको छ । कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । विजयी हुने र उनका प्रतिस्पर्धीको मतान्तर धेरै देखिँदैन । 
कतिपय उम्मेदवारहरूले आफ्नोबाहेक अरू कसैको पनि भोट पाउन सकेको देखिँदैन । अर्थात् उनीहरूले एक मत मात्र पाएका छन् । त्यो उनी आफैंले दिएको मत मात्र । या कुनै एक व्यक्तिले मात्र दिएको मत हो । 
यतिसम्म कि उनीहरूलाई आफ्नै घरका सदस्यहरूले समेत पत्याएको देखिँदैन । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा उम्मेदवार बनेका यामयाङ टासीलाई आफूबाहेक कसैले पनि पत्याएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका टासीले एक मत मात्र पाए ।
जहाँ एमालेका कान्छा घले निर्वाचित भएका थिए । उनले ८६१ मत पाएका थिए । तीन हजार ५ सय ३५ मतदाता रहेको ङिस्याङमा एक हजार पाँच सय ७४ मत खसेको थियो । तर, टासीले एक मत मात्र पाए। 
धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षका लागि उम्मेदवारी दिएका एकीकृत समाजवादीका उम्मेदवार दिवश कार्कीले एक मत मात्रै पाए । २९ वर्षीय कार्कीले आफ्नो मात्र भोट पाएका हुन् । 
वडाध्यक्षमा ६२० मत ल्याएर कांग्रेसका राजु लोप्पा विजयी भए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका अर्जुन शाही ठकुरीले ६१७ मत पाए । तीन मतको अन्तरले लोप्पा विजयी भएका थिए । एक हजार ७७४ मत खसेको थियो ।
धादिङ र मनाङका उम्मेदवारले मात्र नभएर अन्तिम मतपरिणाम सार्वजनिक भइसकेका कतिपय स्थानीय तहका कतिपय उम्मेदवारले एक मत मात्र पाइरहेका छन् । यस्ता उम्मेदवारको धरौटीसमेत जफत हुनेछ ।  
नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ताका लागि १५ सय रुपैयाँ धरौटी राख्नुपर्छ । त्यसमा महिला, दलित तथा अल्पसंख्यक समुदायका वा विपन्न उम्मेदवारलाई आधा छुट हुने व्यवस्था छ ।
वडाध्यक्षका लागि एक हजार र सदस्यका लागि पाँच सय रुपैयाँ धरौटी तिर्नुपर्छ । उम्मेदवारले सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा त्यस्तो धरौटी जफत हुने व्यवस्था छ । जफत भएको रकम सञ्चित कोषमा जम्मा हुनुपर्ने नियम छ । 
यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा ५० भन्दा बढी नगरपालिकाका उम्मेदवारले एक मत मात्रै पाएका थिए । काठमाडौं, भक्तपुर, ललितपुरदेखि कतिपय जिल्लाका नगरपालिकाको मेयरका उम्मेदवारले नै एक मत मात्र पाएका थिए । त्यस्तै वडाध्यक्ष, वडासदस्यका उम्मेदवारले पनि त्यसरी नै आफ्नोबाहेक अरू कसैको मत पाउन सकेनन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!