मनाङको विकासमा मौसम बाधक

Posted on: 03 Jan, 2022

पुस १९, मनाङ|धेरै स्थानमा गर्मी मौसममा विकास निर्माणका काम गरिन्छ । कुनै स्थानमा गर्मी लाग्ने अवस्थामा केही विकासका काम गरिन्छन् । हिमाली जिल्ला मनाङमा न गर्मीमा न हिउँदमा विकास निर्माणका काममा कठिनाई  हुने गरेको छ । जाडो मौसममा यहाँको विकास निर्माण पूर्ण रुपमा प्रभावित भइरहेको छ । 

यसपटक गर्मीमा मौसम परिवर्तनका कारण बाढीपहिराले समस्या निम्त्याइरह्यो । हिउँद लाग्नासाथ मौसम बद्लीएर हिमपात सुरु भयो । हिमपातसँगै निर्माण कार्य प्रभावित भयो । 

प्रकृतिनै बाधक बन्दा यहाँको विकासमा बाधा पुगेको छ । बाढीपहिरा खस्न छाडेपछि केही विकासका काम थालिएपनि त्यसले निरन्तरता पाउन नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । “यहाँको विकास गर्न प्रकृतिनै बाधक बनेको छ । दुवै मौसममा निर्माण  कार्य गर्न सकिदैन । केही समय काम गर्न सुरुआत मात्रै गर्ने र पूरा गर्न नपाउँदै अर्को मौसम सुरु हुन्छ जसले निर्माणको काम गर्न सक्ने अवस्था हुँदैन,” उहाँले भन्नुभयो । मनाङको प्रवेशद्वार नासों गाउँपालिकाको धारापानीसम्म मात्रै सवारी आवतजावत हुने गरेको आचार्य बताउनुहुन्छ । 

हिउँदमा विकास निर्माण गर्नुपर्ने भएपनि त्यसो गर्न नसकिएको उहाँको भनाइ छ । गर्मीमा बाढीपहिराले सामग्री ढुवानी हुन नसक्दा निर्माण कार्य हुन नसकेको र हिउँदमा हिमपातले सवारीसाधन आवतजावत हुन नसक्दा निर्माण कार्य हुन नसकेको प्रजिअ आचार्यले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हिउँद सुरु भएसँगै हिमपातले सवारीसाधन आवतजावत रोकियो । विकास निर्माणका काम रोकिए । विकास निर्माणमा आवश्यक  सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन् । विकास निर्माणले कहिले गति लिने यस्ता अवस्थामा ?”

 गर्मीमा बाढीले भत्किएको पुल मर्मत गर्न थालिएपनि अझै पुरा भएको छैन । पुल निर्माणार्थ आवश्यक पर्ने सामग्री ढुवानी गर्न नसक्दा अहिलेसम्म पुल मर्मतको काम अलपत्र छ । बाढीले भत्किएका सामुदायिक एवं व्यक्तिगत आवास निर्माण गर्न सकिएको छैन । हिमपातले सामग्री मनाङसम्म ल्याउन मुस्किल पर्ने हुँदा अलपत्र परेको प्रजिअ आचार्य बताउनुहुन्छ । 

माथिल्लो मनाङ, नार्पाभूमि गाउँपालिकाको नार, फु गाउँलगायत सदरमुकाम चामेसम्म सवारीसाधन आउन चल्न सकेको छैन । “हिउँदमा हिमपातले गर्दा करिब तीन महिनासम्म सवारी आवतजावत हुँदैन । हिमपातले पुरिएको स्थानमा हिउँ फालेर मात्रै बाटो पहिल्याउन सकिन्छ । यस्तो अवस्थामा विकास निर्माणको काम गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । विगतको तुलनामा यस वर्ष मनाङमा बाढीपहिराले भौतिक संरचनामा क्षति धेरै पु¥याएको छ । बाढीपहिराले क्षति पु¥याएका भौतिक संरचना निर्माणको काम अलपत्र नै छ । दुवै मौसममा निर्माणको काम गर्न नसक्दा अहिलेसम्म मनाङका धेरै भागसम्म सडकको व्यवस्थापन राम्रो बनाउन सकिएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!