अक्सिजन अभावले उपचारमा समस्या

Posted on: 17 May, 2021

जेठ ३, वाग्मती (रासस) । मकवानपुरमा एउटा पनि  व्यावसायिक रुपमा अक्सिजन उत्पादन गर्ने उद्योग नहुँदा जिल्लामा आवश्यक अक्सिजन आपूर्तिमा समस्या देखिएको छ । जिल्लाभित्र अक्सिजन उद्योग नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन  सिलिन्डर भरेर ल्याउन झन् समस्या हुँदैदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा सहजै रुपमा मागअनुसार पर्याप्त मात्रामा अक्सिजन आपूर्तिमा अभाव  हुँदा जिल्लाका विभिन्न अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारमा समस्या हुँदै आएको हो । वाग्मती प्रदेशको हेटौँडा अस्पतालसहित  हेटौँडा उपमहानगरपालिका–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पताल र थानाभर्याङस्थित चुरेहिल हस्पिटलले कोभिड–१९ बिरामीको उपचार गर्दै आइरहेका छन् । यद्यपि सबै स्वास्थ्य संस्थाले आवश्यकताअनुसार सहजै रुपमा अक्सिजन व्यवस्थापन नभएको भन्दै थप बिरामी उपचार गर्न कठिनाइ हुने जनाउँदै आएका छन् ।

अन्य जिल्लाका अक्सिजन उद्योगको भरपर्नुपर्ने अवस्थाका कारण जिल्लामा सहज आपूर्ति नहुँदा बिरामीको उपचारसमेत समस्या हँुदै आएको  हेटौँडा अस्पताल व्यवस्थापन समितीका सदस्य सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । आजको अवस्थामा तीनवटा स्वास्थ्य संस्थामा  दैनिक रुपमा २५० अक्सिजन सिलिन्डर आवश्यकता पर्ने गरे पनि हाल दैनिक २१० सिलिन्डर मात्र प्राप्त हुँदै आएको  छ  । बिरामीको सङ्ख्या बढ्दै जाँदा झन् अक्सिजनको माग बढी हुँदै जाने भएकाले जिल्लामा अक्सिजन अभावको समस्या बढ्दै गएको अस्पताल व्यवस्थापन समितिका सदस्य कार्कीले जानकारी दिनुभयो  । 

कोभिड–१९ का बिरामी उपचार गर्दै आएका तीनवटा स्वास्थ्य संस्थाका अनुसार हाल प्राप्त अक्सिजन सिलिन्डरका आधारमा उपचार गराइरहेका बिरामीलाई धान्नै मुस्किल परेको अस्पतालले जनाएका  छन्  ।  हाल हेटौँडा अस्पतालसहित अन्य निजी दुईवटा अस्पतालमा करीब २५० सिलिन्डर माग हुँदै आए पनि करीब २१० मात्र  सिलिन्डर  व्यस्थापन हुँदै आएको  र थप सिलिन्डर व्यस्थापनका लागि आवश्यक पहल भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । 

अक्सिजन उद्योग मकवानपुरमा नभएकै कारण खाली सिलिन्डर लिएर बारा, चितवन, नुवाकोट, विराटनगरलगायतका जिल्लामा भर्न जानुपर्ने बाध्यता छ । कोभिड–१९ का बिरामीलाई मकवानपुरका स्वास्थ्य संस्थामा चाहिने अक्सिजन चितवन, पूर्वी नवलपरासी, बारा, पर्सालगायत जिल्लामा रहेका उद्योगबाट हुँदै आएको अक्सिजन आपूर्ति पर्याप्त छैन ।

बिरामी उपचार गर्न नसकिने

वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले कोभिड–१९ का बिरामीको उपचार गर्न नसक्ने जानकारी गराएका छन् ।  दुवैले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड सङ्क्रमितको सङ्ख्या बढ्नु र अक्सिजनको सिलिन्डर अभाव भएकाले उपचार गर्न नसक्ने जनाएको हो ।

चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले क्रमशः १० र २० श्यया गरी ३० श्ययाको  सेवासहितको कोभिड–१९ का बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएका थिए । विगत एक–दुई दिनदेखि बाहिरी जिल्लाबाट हेटौंडामा  खपत हुने आवश्यकताअनुसार  अक्सिजन सिलिन्डर आउन छोडेकाले कोभिडका बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । दुईवटा अस्पतालमा ३० श्ययाको एचडियु सेवासहितको कोभिड उपचार गरी आइरहेको र अक्सिजनको सिलिन्डर आपूर्ति नभएकाले उपचार गर्न नसक्ने विज्ञप्तिमार्फत सबैलाई जानकारी गराइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!