वाग्मती समाचार : जनप्रतिनिधि चढ्ने गाडीमा अब कोरोना सङ्क्रमित बोक्दै

Posted on: 11 May, 2021

वैशाख २८, वाग्मती (रासस)। वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–४ हुप्राचौरमा वडा प्रहरी कार्यालयको भवन निर्माण शुरु भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ मा रु ४० लाख ७४ हजार लागतमा भवन निर्माण शुरु भएको हो ।

यस वर्षदेखि भवन निमार्ण शुरु गरिएको भए पनि रु पाँच करोड ६० लाखको लागतमा पाँचतले भवन निमार्ण गरिने योजना छ । बाँकी रकम आगामी वर्ष पनि बजेट थप गरेर निमार्ण सम्पन्न गरिने बताइएको छ । आम नागरिकको सुरक्षा गर्ने प्रहरीलाई भाडाको घरमा राख्न हुन्न भनेर नगर विकासको नाममा रहेको जग्गा सहयोग गरेर मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण शुरु भएको नगरप्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । 

अटोरिक्सालाई एम्बुलेन्सका रूपमा सञ्चालन 

वाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि हेटौँडा उपमहानरपालिकाभित्र अटोरिक्सालाई एम्बुलेन्सका रूपमा सञ्चालन गरिने भएको छ । मकवानपुर कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार हेटौँडा उपमहानरपालिकाका १९ वटै वडामा अटो एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपाल अटो तथा विद्युत् यातायात प्रालि हेटौँडाले उपमहानगरपालिकाअन्तर्गतका वडा कार्यालयसँग आवश्यक समन्वय गरी प्रत्येक वडामा दुई÷दुई अटो एम्बुलेन्स सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । समयमै एम्बुलेन्स पाउने अवस्था नहुने र जारी निषेधाज्ञाका कारण यातायातका अन्य साधन नपाउने स्थिति भएपछि प्रत्येक वडामा अटोको प्रयोग गर्न लागिएको हो । यसअघि थाहा नगरपालिकाले पनि नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

नेपाल अटो तथा विद्युत् यातायात प्रालि हेटौँडाले उपमहानगरपालिकाअन्तर्गतका वडा कार्यालयसँग आवश्यक समन्वय गरी प्रत्येक वडामा दुई÷दुईवटा अटो एम्बुलेन्स सञ्चालन गर्नेछन् । 

जनप्रतिनिधि चढ्ने गाडीमा अब कोरोना सङ्क्रमित बोक्दै

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिले यसअगावै प्रयोग गर्दै आएको सवारी साधनमा समेत अब कोरोना सङ्क्रमितका बिरामीलाई निःशुल्क बोक्न थालिएको छ । गाउँपालिकामा जनप्रतिनिधिले प्रयोग गर्दे आएको बा१झ ९२०४ नंको सवारी साधन अबदेखि कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्करूपमा अस्पताल लैजाने तथा ल्याउने काममा प्रयोग थालिएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिका क्षेत्रमा यातायातको असुविधालाई मध्यनजर गर्दै कोभिड–१९ का बिरामीलाई अस्पतालसम्म ल्याउन र लैजान सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सवारी साधन प्रयोगमा ल्याइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो । जनप्रतिनिधिले प्रयोग गर्ने एउटा सवारी साधन र वडा नं २ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्यचौकीको एम्बुलेन्ससमेत निःशुल्क कोरोना सङ्क्रमितलाई लैजान र ल्याउन प्रयोग गरिएको उल्लेख छ ।

त्यसैगरी मकवानपुर जिल्लाको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रयोग गर्दै आउनुभएको सरकारी गाडी पनि कोरोना सङ्क्रमणको अवधिभर कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग गर्न थालिएको छ । बा२झ १२५९ नंको गाडी सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्था लैजान र ल्याउनका लागि प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिनुभयो । 

निषेधाज्ञालाई थप कडाइ

प्रदेश राजधानी हेटौँडामा यसअगावै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

निर्माणजन्य सामग्री ढुवानी गर्ने सवारी साधन मर्मत गर्ने सबै वर्कसप दैनिकरूपमा बिहान १० देखि ३ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ । त्यसैगरी ज्येष्ठ नागरिकलाई वितरण गर्दै आएको सामाजिक सुरक्ष भत्ता सम्बन्धित वडाका वडाध्यक्षले सम्बन्धित व्यक्तिको घरमै गई वितरण गर्ने व्यवस्था मिलाउने र अनधिकृत होल्ड गरिएका अक्सिजन सिलिण्डरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!