धनुषामा अदालतबाट कैद सजाय पाएर फरार फरार दम्पती पक्राउ

Posted on: 16 Mar, 2022

चैत २,  जनकपुर । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 

मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद र रु दुई लाख ५० हजार जरिवानाको सजाय पाएर फरार जनकपुुरधाम उपमहानगरपालिका–१३ का ४२ वर्षीय रामजी पासवान र रु एक लाख ५० हजार जरिवानाको सजाय पाएका पासवानको ३२ वर्षीया श्रीमती बिभा पासवानलाई धनुषा प्रहरी पक्राउ गरेको हो ।

अदालतबाट फैसला भएपश्चात फरार रहेका दुवै जनालाई जनकपुरधाम उपमहानगरपालिका १३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । धनुषा जिल्ला अदालतले गत २०७७ माघ २२ गते दम्पतीलाई सो सजायको फैसला गरेको थियो ।

लागुऔषधसहित दुई युवक पक्राउ

जलेश्वर– भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–७ का ३३ वर्षीय रोहितकुमार राणा र महोत्तरी बर्दिबास नगरपालिका–३ का ३० वर्षीय सुमन विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

गए राति भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी महोत्तरीको औरही नगरपालिका–४ स्थित कठुधारचोकमा युवकद्वयलाई प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नुफिन दुई एमएल ७० एम्पुल, फेनेरगन दुई एमएल ८८ एम्पुल, डाइजाल्याब ८८ एम्पुल लागुऔषध तथा सुई बरामद गरेको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!