घलेगाउँलाई स्मार्ट भिलेज बनाउने कार्यक्रमले तीव्रता लिंदै

Posted on: 26 Aug, 2018
मनोज पराजुली, भदौ १०, लमजुङ। सार्क पर्यटन गाउँको रुपमा रहेको घलेगाउँलाई स्मार्ट भिलेज बनाउने कार्यक्रमले तीव्रता लिएको छ। पर्यटकीय गन्तव्यको रुपमा चिनिएको घलेगाउँको विकास साथै प्रचार प्रचार गर्नको लागि विभिन्न समिति गठन गरि काम शुरु गरिएको छ । स्मार्ट भिलेज बनाउने अभियान अन्तरगत आइतबार देखि औपचारिक कार्यक्रमहरुको शुरूवात गरिएको क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष एवं घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घलेले जानकारी दिए । आज समुदाय वरपर सरसफाइका साथै सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।

घले गाउँको पर्यटन प्रवर्द्धन गर्नको लागि गण्डकी प्रदेश सरकार र तारा गाउँ विकास समितिसंग आवश्यक रकम माग गरिएको प्रेम घलेले बताए। गाउँका सबै घरका छाना एकै कलरको बनाउने र यस क्षेत्रका भौतिक संरचनाको विकासको लागि पहल भैईरहेको उनले बताए । घलेगाउँ २०७४ सालको उत्कृष्ट सामुदायिक होमस्टे बन्न सफल भएको थियो । २०५७ सालदेखि पर्यटन प्रवर्द्धनका कार्यक्रम गरी घलेगाउँमा होमस्टे सञ्चालन हुँदै आएको छ। पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताका कारण स्वदेशी तथा बिदेशी पर्यटकको रोजाइमा घलेगाउँ पर्दै आएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!