घरमै पुगेर पम्फा भुसालले वामदेवसँग मागिन् भोट

Posted on: 30 Oct, 2022

कात्तिक १३, ललितपुर | ललितपुर क्षेत्र नम्बर ३ कि उम्मेदवार नेकप (माओवादी केन्द्र)की नेतृ पम्फा भुसालले वामदेव गौतमसँग घरमै पुगेर भोट मागेकी छन् ।

उर्जामन्त्री समेत रहेकी भुसालले आइतबार भैंसेपाटीस्थित गौतम निवासमा पुगेर  भोट मागेकी हुन् । भेटमा सौहार्दपूर्ण छलफल भएको वियय नेतृ भुसालले आइतबार सामाजिक संजाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उल्लेख गरेकी छन् ।


एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गौतम भने पछिल्लो समय राजनीतिक सक्रिय छैनन् । एमाले विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादीमा नगई वाम एकताको पक्षमा लागेको बताउने गौतम देश चुनावमय हुँदा निस्क्रिय देखिन्छन् ।

उनै गौतमलाई भेटेर भुसालले आफूलाई मत दिन र चुनावमा सघाउन आग्रह गरेकी हुन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी भुसालले २०६४ र २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । तर, २०७० सालको दोस्रो संविधानसभा निर्वाचन भने उनी सम्मिलित पार्टीले बहिष्कार गरेको थियो ।

यसपटक सत्तारुढढ गठबन्धनको समर्थनसहित उनी चुनावी मैदानमा छिन् । हाल राजनीतिमा सक्रिय नरहेका र कतै नदेखिएका गौतमलाई भेटेर उनले आफूलाई सहयोग गर्न आग्रह गरेकी हुन् । जवाफमा गौतमले विजयीको शुभकामना दिँदै सहयोग रहने बताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!