पर्यटकलाई दिक्तेल भित्र्याउन हलेसीमा पर्यटन सूचना केन्द्र

Posted on: 13 Apr, 2019

चैत ३०, खोटाङ (रासस) | नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेल बजारसम्म ल्याउन हलेसीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।

हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो नगरपालिकाभित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थल भ्रमण र अवलोकन गराउन नगरपालिकाले पर्यटन सूचना केन्द्र स्थापना गरेको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार आसपास रहेका पर्यटकीय तथा धार्मिकस्थललाई प्रचारप्रसार गर्दै हलेसी आउने पर्यटकलाई दिक्तेल भित्र्याउन पर्यटन सूचना केन्द्र स्थापना गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो ।

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल मानिने त्रिधार्मिकस्थल हलेसीमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभयो । 

सूचना केन्द्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एकजना कर्मचारी रहने र उनले त्यहाँ आएका पर्यटकलाई नगरपालिका क्षेत्रभित्र भएका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुका बारेमा जानकारी गराउने पर्यटन प्रवद्र्धन समितिका संयोजक अनिल जोशीले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु नौ लाख लागतमा त्रिधार्मिकस्थल हलेसीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको जनाइएको छ । 

सूचना केन्द्रमा नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरु दिक्तेल बजार, बुधेश्वर महादेव मन्दिर, रुपाकोट, मझुवा कालिका भगवती मन्दिर, मझुवागढी, भुलभुले दूधकुण्ड, महुरेगढी आँखा पोखरी, साप्सुढाप, सीतादेवी मन्दिर, बगेर भञ्ज्याङ, पञ्चेदोबाटो, सहदेवगढी, रुवालुङ झरना लगायतको फोटोसहितको हाते ब्रुसर राखिएको छ । कार्यक्रमका वक्ताहरुले जिल्लालाई धार्मिक पर्यटनको विकास गर्न सम्बन्धित निकायलाई सुझाव दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!