लोकल रक्सी पोख्ने विदेशी दलाल हुन् : उषाकला राई

Posted on: 03 Nov, 2021

कात्तिक १७, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा लोकल मदिरा पोखेर नष्ट गरेको घटनाप्रति ‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता एवं पूर्वमन्त्री उषाकला राईले विरोध जनाएकी छन् । 

इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्की नेतृत्वको प्रहरीले १५ कात्तिकमा ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ बरामद गरेर जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयको रोहवरमा पोखेर नष्ट गरिएको केही दिनपछि एमाले नेतृ राईले विरोध जनाएकी हुन् । 

‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता राईले बुधबार सामाजिक सञ्जालमार्फत घरेलु रक्सी पोख्ने जनप्रतिनिधि र प्रहरीलाई ‘विदेशी दलाल र साम्राज्यवादका मतियार’ भनेकी छन् । घरेलु रक्सीलाई झैं विदेशी रक्सीलाई पोखेर देखाउन उनको चुनौती छ ।

प्रदेश नम्बर १ की पूर्वसामाजिक विकास मन्त्री राईले लोकल रक्सी पोख्नेलाई जनता समक्ष माफ माग्न भनेकी छन् । ‘विडम्बना ! उत्सवमा विदेशी बियर र रक्सी चियर्स गर्ने र आफ्नो उत्पादन माटोमा पोख्ने कुरामा बहादुरी देख्ने संस्कारको अन्त्य भएन । गरिबको श्रम, सिप र सम्पत्ती माटोमा पोख्दै हिँडेर खै के उँभो लाग्छौं र हामी ! हाम्रो संस्कृति, हाम्रो सम्पत्ति, हाम्रो उत्पादनको विकास नगरी देश बन्दैन ।'

गरिब जनताको हात हातमा पैसा पठाउन कोदोको लोकल रक्सीलाई ब्यान्ड नभई ब्राण्ड बनाउने कार्यक्रम आफूले सुरु गरेको उनले बताइन् । 'लोकल रक्सी पोखेर फेरी ठूलो बहादुरी देखाएछन् साथीहरूले ! यसको घोर भर्त्सना गर्दछु । घोर आपत्ति जनाउँछु,’ राईले लेखेकी छन्,, ‘गरिबलाई हेप्नेलाई चुनौती दिन्छु, ए विदेशी दलाल हो ! ए, साम्राज्यवादका मतियार हो ! आँखा गरिबको उत्पादनमा होइन, बिदेसी बहुराष्ट्रिय कम्पनीबाट बनेका ह्विस्की, रम र बियरमा लगाऊ ! सक्छौ भने विदेशी रक्सी पोखेर देखाऊ ! विदेशी रक्सी नेपाल भित्र्याउन प्रतिबन्ध लगाएर देखाऊ !’ 

नेतृ राईले ‘ब्यान्ड भर्सेस ब्राण्ड’को अभियान पुरा गरेर देखाउन सरकार समक्ष आग्रह गरेकी छन् । हलेसीबजारमा लोकल रक्सी पोख्ने कार्यमा सहभागी वडाध्यक्ष चइन्द्र राई, प्रहरीलगायतको चौतर्फी आलोचना भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!