जसपाका केन्द्रीय सदस्य वडा सदस्यमा निर्वाचित

Posted on: 16 May, 2022

जेठ २, खोटाङ | जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई खोटाङको साकेला गाउँपालिका-२ रतन्छाको वडा सदस्य निर्वाचित भएका छन् । २५ वर्षअघि भएको स्थानीय निकायको निर्वाचनबाट रछन्छाको गाविस अध्यक्ष चुनिएका राई यसपल्ट वडा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३२५ मत पाएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठनबन्धनको सहमतिअनुसार उनी जिल्ला समन्वय समितिमा जानेगरी वडा सदस्यमा उठेका हुन् । उनी २०६४ र २०७० को संविधानसभा सदस्यमा पनि उठेका थिए ।

केही समयअघि मात्र उनी दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्षको भूमिकाबाट बिदा भएका हुन् । राई २०५४ सालमा एमालेबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनले गाविसको पञ्चवर्षीय योजना बनाए, भिलेज प्रोफाइल बनाए जुन काम जिल्लामै पहिलोपल्ट भएको थियो । तत्कालीन गाविसलाई नमुना बनाउन पहल गरेबापत उनले तत्कालीन जिल्ला परिषदबाट उत्कृष्ट गाविस अध्यक्षको रूपमा सम्मान पाएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!