बेलायतमा मानिसहरूलाई साँझमा बत्ती नबाल्नका लागि सरकारले पैसा दिने

Posted on: 24 Jan, 2023

माघ १०, काठमाडौँ | बेलायतमा १० लाखभन्दा बढी घर र कार्यालयलाई साँझ ५ बजेदेखि ६ बजेसम्म बत्ती निभाउनका लागि सरकारले पैसा दिने भएको छ । 

त्यहाँको विद्युत् प्राधिकरणले डिमान्ड फ्लेक्सिबिलिटी सर्भिसलाई एक घन्टाका लागि सक्रिय बनाएको छ । त्यसमा ब्रिटिश ग्यास, ईडीएफ, इयोन र अक्टोपस इनर्जी लगायतका कम्पनीहरू सहभागी छन् । 


बत्ती निभाउने परिवारलाई १० देखि २० पाउन्ड दिइने सरकारको योजना छ ।

कठ्यांग्रिदो जाडोमा लोडशेडिङ गर्न पर्ने स्थिति नआओस् भनी यो व्यवस्था मिलाइएको हो । जाडोमा बिजुलीको खपत सामान्य अवस्थामा भन्दा बढी हुने गर्छ ।

यस परियोजनाका संयोजक क्रेग डाइकले यो योजना प्रत्येक जाडो याममा गर्न सकिने सम्भावनालाई नकारेका छैनन् । यो निकै ठूलो उपलब्धिको पहिलो चरण भएको उनको भनाइ छ ।

दश लाखभन्दा बढी परिवारले यसका लागि निवेदन दिएका छन् । 

तर घर तथा कार्यालयमा स्मार्ट मिटर जडान गरेका मानिसलाई मात्र यो सुविधा उपलब्ध गराइने सरकारको निर्णयको आलोचना गरिएको छ । त्यो अवस्थामा आधा जनसंख्याले मात्र यो सुविधा पाउनेछन् । 

कतिपय प्रयोगकर्ताले स्मार्ट मिटरका लागि ६ महिनादेखि प्रतीक्षा गरिरहेको तर नपाएको अनि अहिले आफूहरूलाई सुविधाबाट वञ्चित गर्न लागिएको बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!