द इकोनोमिस्ट विरुद्ध उजुरी दिँदै अभिनेत्री इनास

Posted on: 11 Aug, 2022

साउन २६, काठमाडौँ । एजेन्सी |  इराकी अभिनेत्री इनास तालेबले ब्रिटेनको प्रतिष्ठित पत्रिका द इकोनोमिस्टविरुद्ध कानुनी मुद्दा लड्ने घोषणा गरेकी छन् । पत्रिकामा हालैमात्र छापिएको एक लेख अरब विश्वका महिलाकाबारेमा लेखिएको थियो । जसमा अरबी महिलाहरू पुरुषको तुलनामा ‘मोटा’ हुने दाबी गरिएको थियो ।


‘अरब विश्वमा पुरुषको तुलनामा महिलाहरू अधिक मोटो किन हुन्छन् ?’ शीर्षकको लेखका लागि इनासको तस्बिर प्रयोग गरिएको थियो । उनले आफ्नो तस्बिर प्रयोग गरिएको भन्दै कानुनी बाटो अपनाउने घोषणा गरेकी हुन् ।

इराककी लोकप्रिय अभिनेत्री र टक शोकी होस्टसमेत रहेकी इनासले एक अन्तर्वार्तामा आफ्नो अनुमतिविना नै तस्बिर प्रयोग गरिएको बताइन् । उनले आफ्नो गोपनीयताको उल्लंघन भएको दाबी गरेकी छन् । उने तस्बिरमा फोटोसप गरिएको बताएकी छन् ।

यो लेख गत जुलाईको अन्त्यमा प्रकाशित भएको थियो । जसमा इनासको तस्बिर राखिएको थियो । उनको त्यो तस्बिर नौ महिना पुरानो बेबिलोन इन्टरनेसनल फेस्टिभलमा खिचिएको थियो ।

लेखमा गरिबी र महिलाहरूलाई घरबाट निस्कन लगाइएको प्रतिबन्धका कारण पुरुषको तुलनामा अरब महिलाहरूको तौल अधिक हुने दाबी गरिएको थियो ।

इनासले लेखले अरब महिला र विशेष गरी इलाकी महिलाको अपमान गरेको बताएकी छन् । ४२ वर्षकी इनास इराकको लोकप्रिय अभिनेत्री हुन् । जसको इन्स्टाग्राममा ९० लाख बढी फलोअर्स छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!