के हो रसियाले भारतलाई दिएको आणविक उर्जायुक्त एस–४०० हतियार प्रणाली ?

Posted on: 18 Nov, 2021

मङ्सिर १, नयाँ दिल्ली (एजेन्सी) | रसियाले भारतलाई एस– ४०० हतियार प्रणाली दिएको छ । भारतको चीन र पाकिस्तानसँग सीमामा तनाब बढिरहेका बेला मस्कोले आणविक उर्जायुक्त हतियार प्रणाली नयाँ दिल्लीलाई दिएको हो ।

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको भारत भ्रमण अगाडि नै सो प्रणाली नयाँ दिल्ली ल्याउन लागिएको हो । यस प्रणालीका केही इकाइहरू जल तथा वायुमार्ग हुँदै भारततर्फ आउँदैछन् । 

हतियार प्रणालीलाई  सन् २०२२ को अप्रिल महिनासम्ममा चीन र पाकिस्तानसँगको सीमामा राखिने भारतको तयारी छ । रणनीतिक महत्वको पश्चिमी क्षेत्रबाट सो प्रणालीले चीन र पाकिस्तानको सम्भावित जोखिमलाई निस्तेज पार्ने विज्ञहरुले बताएका छन् ।

‘रसियाले एस ४०० वायु रक्षा प्रणाली भारतलाई प्रदान गरेको छ । पहिलो इकाई छिट्टै नयाँ दिल्ली पुग्नेछ । ’  रसियाको फेडरल सर्भिस फर मिलटरी टेक्निकल कोअपरेसन (एफएसएमटीसी) का निर्देशक दिमित्रे शुगेभले भने । एफएसएमटीसीलाई रसिया महासंघले व्यबस्थापन गर्छ ।

यही ६ डिसेम्बरमा आयोजना हुने बार्षिक भारत– रसिया सम्मेलनका लागि पुटिन नयाँ दिल्ली आउँदैछन् । एक दिवसीय भ्रमणका अवसरमा भारत र रसियाबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछन् ।

पुटिनले बार्षिक सम्मेलनका अवसरमा सन् २०१८ मा भारतको भ्रमण गरेका थिए । सो भ्रमणका अवसरमा एस– ४०० प्रणाली सम्झौताबारे दुई देशबीच हस्ताक्षर भएको थियो । मस्को नयाँ दिल्लीको ठूलो रक्षा साझेदार देश हो ।

के हो एस– ४०० प्रणाली ?

यो सन् १९९० को मध्यतिर रसियाको आल्माज सेन्ट्रल डिजाइन ब्युरो फर मारिन इन्जिनियरिङले विकसित गरेको जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली हो । एस–४०० मा ८ देखि १० ओटासम्म लन्चर र आवश्यकताअनुसार क्षेप्यास्त्र जडान गरिएका हुन्छन् ।

यसले शत्रुको लडाकु विमान, ब्यालिस्टिक मिसाईल र क्रुजजस्ता क्षेप्यास्त्रलाई टाढाबाट ध्वस्त पार्न सक्छ । ४०० किलोमिटर टाढाबाट मार हान्न सक्ने भएकोले यसलाई एस–४०० नाम दिइएको हो । 

यसले एकैपटकमा ३६ वटा क्षेत्रमा निशान बनाउन सक्छ । शत्रुले आकाशमा प्रहार गरेको क्षेप्यास्त्रलाई पहिचान गर्न सक्नु यो प्रणालीको मुख्य विशेषता हो । रसियाले यो प्रणाली अमेरिकी लडाकु विमान र  क्षेप्यास्त्रहरूलाई पत्ता लगाएर ध्वस्त पार्न बनाएको हो । त्यही भएर अहिले भारतसँग अमेरिका चिढिएको छ ।

यो प्रणालीले एशियामा नै भारतलाई रक्षाका दृष्टिले बलियो बनाउने विज्ञहरुको भनाई छ । 

एस–४०० हतियार प्रणाली चीनसँग पनि छ ।  चीनले तिब्बत नजिकै पर्ने सिचुआन प्रान्तको एउटा हवाई आधारमा यो प्रणाली तैथान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!