पृथ्वीले पायो नयाँ चन्द्रमा

Posted on: 31 May, 2023

एजेन्सी | हालैको एक अध्ययनले पृथ्वीमा नयाँ चन्द्रमा वा ‘अर्ध–चन्द्रमा’ रहेको खुलासा गरेको छ । यो चन्द्रमा क्वासी मून अर्थात् अर्ध–चन्द्रमा हो । क्वासी–मून स्पेस रक (क्षुद्रग्रह) हो जसले पृथ्वी र सूर्य दुवैको चक्कर लगाउँछ तर सूर्यको गुरुत्वाकर्षणले बाँधिएको हुन्छ । सहज शब्दमा भन्ने हो भने सूर्यले स्पेस रकलाई आफूतिर तान्छ । 

अन्तरिक्षयात्रीले हवाईको Pan-STARRS टेलिस्कोपको मद्दतले 2023 FW13 नामका क्वासी मूनबारे पत्ता लगाएको हो । अन्तरिक्ष यात्रीका अनुसार यो २१०० वर्ष (१०० बीसी) देखि पृथ्वीको आसपास नै थियो । यसबारे अहिले मात्रै पत्ता लागेको हो । यसले अबको १५ सय वर्ष अर्थात् सन् ३७०० सम्म पृथ्वीको चक्कर लगाउनेछ । त्यसपछि यसले पृथ्वीको कक्ष छोड्नेछ । यसबाट पृथ्वीलाई कुनै खतरा हुने छैन ।


2023 FW13 ले सूर्यको चारैतिर त्यति नै समयमा चक्कर लगाउँछ जति समयमा (३६५ दिन) पृथ्वीले लगाउँछ । साथै यसले पृथ्वीको चारैतिर पनि चक्कर लगाउँछ ।

क्वासी मूनलाई क्वासी–स्याटलाइट पनि भनिन्छ । यसले चन्द्रमाले झैँ पृथ्वीको परिक्रमा गरिरहेको छ । तर यो पृथ्वीको साटो सूर्यको गुरुत्वाकर्षणले बाँधिएको छ । त्यसैले पनि यसलाई क्वासी भनिएको छ । यता चन्द्रमा भने पृथ्वीको गुरुत्वाकर्षणले बाँधिएको हुन्छ ।

त्यसो भए, यो हाम्रो चन्द्रमा भन्दा कसरी भिन्न छ ?

नयाँ चन्द्रमा 2023 FW13 ले पृथ्वीको हिल स्फियर बाहिर चक्कर लगाउँछ । ‘हिल स्फियर’ कुनै पनि ग्रहको एक यस्तो हिस्सा हो जहाँ ग्रहको गुरुत्वाकर्षण बल सबैभन्दा धेरै शक्तिशाली हुन्छ । यसै बलका कारण उपग्रह, ग्रहतिर तानिन्छन् । पृथ्वीको ‘हिल स्फियर’ को रेडियस १.५ मिलियन किलोमिटर हो जबकि 2023 FW13 को रेडियस योभन्दा ठुलो अर्थात् १.६ मिलियन किलोमिटर हो । यस्तै, हाम्रो चन्द्रमाको हिल स्फेयरको रेडियस ६० हजार किलोमिटर मात्रै छ ।

यो स्पेस रक जुन कक्षमा छ त्यसको आधा बाटोमा मङ्गल ग्रह र आधा बाटोमा शुक्र ग्रह छ ।

पहिलो पटक मार्च २०२३ मा देखिएको थियो, आकारबारे थाहा छैन

2023 FW13लाई पहिलो पटक २८ मार्चमा Pan-STARRS टेलिस्कोपबाट देखिएको थियो । अब यसको अस्तित्वको पुष्टि भएको छ । यसलाई इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनको माइनर प्लानेट सेन्टरमा सूचीबद्ध गरिएको छ । 2023 FW13  कति ठुलो छ भन्नेबारे जानकारी छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!