चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच फोन वार्ता

Posted on: 28 Mar, 2023

चैत १४, काठमाडौँ | चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको प्रशंसा गर्नुभएको छ । 

चीनको सक्रियतामा हालै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्ने सम्झौता भएको थियो । सात वर्षसम्म जारी रहेको तेहरान र रियादबीचको वैमनस्यातापूर्ण सम्बन्धलाई पुनः स्थापना गर्न चिनियाँ पक्षबाट भएको सफल प्रयासको संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय समुदायले बेइजिङको सराहना गरेका थिए । 

यमन युद्धलाई लिएर इरान र साउदीबीच मनोमालिन्य थियो । लामो समयदेखिका कटु प्रतिद्वन्द्वी इरान र साउदी यमन युद्धलाई लिएर ‘प्रोक्सी’ द्वन्द्वको शृङ्खलामा थिए । 

साउदी राजकुमारसँगको वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले रियाद–तेहरान कूटनीतिक सम्बन्ध पुनः स्थापना भएसँगै पारस्परिक सहायता प्रवद्र्धका साथै क्षेत्रीय एकता र सहयोग सुदृढीकरणमा सशक्त भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो । 

राजकुमार मोहम्मदले दुई पक्षबीच छिमेकीसँग सुसम्बन्ध विकास गर्ने प्रयासलाई समर्थन गर्ने चिनियाँ पहलको लागि साउदी अरबका तर्फबाट चिनियाँ पक्षको प्रशंसा गर्नुभयो । 

साउदी अरब र इरानले अब एक अर्काको राजधानीमा दूतावास पुनः खोल्ने तयारी गरिरहेका छन् । पवित्र महिना रमजानको अन्त्य हुनु अघि दवै देशका शीर्ष कूटनीतिज्ञहरूबीच  बैठक हुने साउदी सरकार नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी अरबका साथै  इरानले पनि द्विपक्षीय सम्बन्ध पुनः स्थापनामा जनवादी गणतन्त्र चीनको नेतृत्व र सरकारले निर्वाह गरेको भूमिकाप्रति कृतज्ञता व्यक्त गरेको छ । 

आफ्नो एक दशकको सत्ता यात्रामा राष्ट्रपति सीको सक्रिय भूमिकाका कारण इरान र साउदी एकै स्थानमा जुट्न भएको सम्झौतालाई कूटनीतिक विश्लेषकहरूले विश्व मामिलामा सीको लागि ठूलो सफलता भनेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!