जाने हैन त स्याबल पोखरी (फाेटाे फिचरसहित)

Posted on: 15 Aug, 2022

साउन ३०, सिन्धुपाल्चोक | प्रकृतिका सुन्दर वस्तु हेर्न कसलाई मन नलाग्ला र ? यस्ता वस्तुले मनलाई प्रफुल्ल बनाउने मात्रै होइन जीवनमा नयाँ रंग पनि भरिदिन्छ । दुःख पीडा भुलाउने त छदैछ मन शान्त र सुमधुर बनाउँछ । 

यस्तै, सुन्दर प्राकृतिक पर्यटकीय गन्तव्यमध्ये एक हो सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–३ स्थित स्याबल, सत्य, न्याखर्क पोखरी । यहाँ पुग्ने जोसुकैले फर्कदा भिन्न महशुस गर्ने गरेको बताउँछन् । 


समुद्री सतहबाट ४२ सय मिटर उचाइमा रहेको स्याबल पोखरी, ४३ सय ६५ मिटरको सत्य(बौलाह) पोखरी, ४३ सय ६७ मिटर उचाईमा रहेको न्याखर्क पोखरी धार्मिक तीर्थस्थलका रुपमा समेत परिचित छ । विशेषगरी स्याबल प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक पोखरी हो । यो पोखरीको लम्बाई पाँच सय मिटर र चौडाई तीन सय मिटर छ । यो अण्डाकारमा फैलिएको छ ।   

लामा गुरु निमा शेर्पाका अनुसार खर्कमा चर्न गएको चौरी एकाएक हराएपछि गोठालोहरूले चौरी खोज्ने क्रममा स्याबल पोखरी फेला पारेका हुन् । चौरीहरूले पोखरीको डिलको ढुंगामा दुध दिएको देखेपछि भगवान महादेव रहेको विश्वासमा पुजाआजा गर्न थालिएको थियो । उनका अनुसार आँखा चिम्लेर वरदान माग्दा गोठालाहरूको हातमा चौरीको भुत्ला हातमा परेको विश्वास छ । यसपछि चौरीको गोठ बड्न थालेको र आम्दानी पनि बढेको विश्वास गरियो । 


१३ पुस्तादेखि तेम्बाथान, दिपु, तेगाका स्थानीय जनै पूर्णिमाका दिन झाँक्रीसहित पुजा गर्न र वरदान माग्न स्यापल पोखरी पुग्ने गरेका छन् । धन माग्नेले धन, सन्तान माग्नेले सन्तान पाएको भन्दै स्यापल पोखरी महादेवप्रति स्थानीयको विश्वास बलियो छ । 

धार्मिक तथा सांस्कृतिक महत्व

स्याबल पोखरीमा प्रत्येक बर्ष जनै पूर्णिमाका दिन मेला लाग्छ । जनै पूर्णिमाभन्दा दुई दिनअघि नै  विधि विधानका साथ तेम्बाथानबाट झाँक्रीसहित जात्राका लागि प्रस्थान गर्छन् । करिब पाँच घण्टाको ठाडो उकालो चड्दै सुपखर्कको चौरी गोठमा पुग्छन् । त्यहाँ रातभर नाचगान गरेपछि भोलिपल्ट लगभग पाँच घण्टाको उकालो हिँडेपछि स्याबल खर्कको गोठमा बास बस्न पुग्छन् ।


भोलिपल्ट एक दिन थकाई मारेपछि स्थानीयवासी जात्राको तयारीमा जुट्छन् । पोखरी जाँदा फोहोर नगर्ने, जाँड रक्सी र सुर्ती नखाई प्रवेश गर्नेमा स्थानीय एकमत हुन्छन् । जात्रामा पहिलोपटक सहभागी हुनेले तीन स्थानको देउरालीमा माने स्याल्गर थाप्नुपर्छ ।

जात्रामा स्याल्गर लिएर गए सजिलो हुने र मागेको वरदान पाउने स्थानीयको विश्वास छ । स्याबलमा महादेबको मन्दिर छ । 

ऐतिहासिक तथा पौराणिक मान्यता

स्याबल पोखरी महादेवको मन्दिरमा पुजाआजा गरे धन, सुख, शान्ति र सन्तानप्राप्त हुने विश्वासले स्थानीयमाँझ लोकप्रिय छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि सडक पूर्वाधार अभावमा स्याबल पोखरी र मन्दिर चर्चामा छैन । स्थानीय युवाहरू अब यस धार्मिक र पर्यटकीय स्थलको प्रचार गर्ने प्रतिबद्धता जनाएका छन् ।

यहाँबाट उच्च हिमाली भेगका मनोरम दृश्य समेत अवलोकन गर्न सकिने भएकाले युवाहरूको विशेष रुचिमा पर्ने गरेको छ । 

जुगल–३ का तेम्बाथान, दिपु, तेगालगायत गन्तव्य पनि प्रचारप्रसार अभावमा ओझेलमा छन् । यहाँका सत्य (बौलाह)पोखरी, न्याखर्क पोखरीमा फाट्टफुट्ट पर्यटक पुगे पनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुन आवश्यक छ । तेम्बाथान, दिपु, तेगा विकटमा रहे पनि यहाँ पुगेपछि सबै खालका पीडा, दुःख बिर्साउँछ । 

प्रचुर पर्यटकीय सम्भावना

सिंगो जुगल गाउँपालिका प्रशस्त पर्यटीकय सम्भावना बोकेको गन्तब्य हो । यहाँको प्राकृतिक सौन्दर्य तथा धार्मिक तथा साँस्कृतिक गतिविधिले पर्यटक तान्ने सम्भावना प्रचुर छ । तर यि पर्यटकीय उत्पादनलाई प्रचार प्रसार गर्न अवश्यक छ । 


गाउँपालिकामा रहेका प्राकृतिक पोखरी, सुन्दर चौर, भञ्ज्याङ, भीर र अग्ला पहाड, चरिरहेका चौरीहरूले वर्यटकलाई मन्त्रमुग्ध पार्नेछन् । 

कसरी पुग्ने ?

सदरमुकाम चौताराबाट पहिलो दिन बलेफी जलविरे, जुगलकै कात्तिके, पाङ्गारपुसम्म बसमा जान सकिन्छ । काठमाडौंबाट जानेहरू पाङ्गारपुसम्म बस वा अन्य सवारी साधनमा जान सक्छन् । 

पाङ्गार पुगेपछि पैदलयात्रामार्फत दोस्रो दिन बोल्दे, गुम्बा, ल्हाक्याप भीर, नेसम खोलाहँुदै तेम्बाथानमा बास बस्न सकिन्छ । तेम्बाथानसम्म बाटो र खानपिनका लागि राम्रै व्यवस्था छ । तर, तेस्रो दिन तेम्बाथानदेखि अगाडि जंगलको बाटो भएकाले केही असहज हुनसक्छ । ठाउँठाउँमा गोठ तथा छाप्राहरू भेटिन्छन् । तेम्बाथानबाट सुपखर्क, देउराली हुँदै यि पोखरीमा पुग्न सकिन्छ ।

यहाँ स्याबल पोखरी मात्रै नभएर स्याबल पोखरीबाट एक घण्टा पैदलयात्रा पश्चात ४६ सय मिटर उचाईमा रहेको रहस्यमय सत्य (बौलाह) पोखरी, न्याखर्क (लामो) पोखरी पुग्न सकिन्छ । न्याखर्क, सत्य पोखरीमा पनि मनोकांक्षा पूरा हुने स्थानीय बताउँछन् ।

रहस्यम सत्य पोखरीको 

४२ सय मिटर उचाइमा रहेको स्यापल पोखरीबाट एक घण्टा उकालो र ओरालो हिँडेपछि सत्य पोखरी पुगिन्छ । स्थानीयले यो पोखरीलाई बौलाहा पोखरी समेत भन्छन् ।

मान्छेको आवाज सुन्नासाथबीचबाट पानीको फोका उम्लने र अचानक हुस्सु, कुहिरोले छोप्ने भएकाले यसलाई स्थानीयले रहस्यम र बौलाहा पोखरी भन्ने गरेका छन् ।


पोखरीले देखाउन चमत्कारले अझै पनि सत्य र देवताको अस्तित्व रहेको पुष्टि हुने स्थानीय भिमसेन कार्कीको बुझाइ छ । जुगल–३ का अध्यक्ष लक्ष्मण दोङ सबैको समन्वयमा पोखरीमा देखिने रहस्यबारे अध्ययन गर्ने बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!