तीन पत्रकारलाई श्रम रोजगार पत्रकारिता पुरस्कार

Posted on: 22 Oct, 2021

कात्तिक ५, काठमाडौँ | श्रम रोजगार पत्रकार समूहद्वारा स्थापित यस वर्षको श्रम रोजगार पत्रकारिता पुरस्कार बिभिन्न संचार माध्यममा कार्यरत तीन जना संचारकर्मीले प्राप्त गर्ने भएका छन् । 

यस बर्षको पुरस्कार कान्तिपुरकर्मी अमृता अनमोल, शिलापत्र डटकमका पत्रकार रमेश भारती र साझा सबाल डटकमका पत्रकार अनिल अधिकारीलाई प्रदान गरिने भएको हो । पुरस्कारको कुल राशि ६० हजार रुपैयाँ रहेको छ । पुरस्कारका लागि यस वर्ष अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को साझेदारी रहेको छ ।

२२ जना पत्रकारले लेखेका बिभिन्न ७६ वटा समाचार रिपोर्टहरु मध्येबाट स्वतन्त्र निर्णायक मण्डलले क्रमश अनमोल, भारती र अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको श्रम रोजगार पत्रकार समूहका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए । 


उत्कृष्ट सामग्री छनोटका लागि तीन सदस्यीय स्वतन्त्र निर्णायक मण्डल गठन गरिएको थियो । निर्णायक मण्डलमा प्रतिनिधिसभा सदस्य तथा आइएलओ गभर्निङ बडी सदस्य डा. विन्दा पाण्डे, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल र श्रम आप्रवासनसम्बन्धी विज्ञ/अनुसन्धानकर्ता जीवन बानियाँ रहेका थिए । 

कात्तिक १० गते कार्यक्रम गरि पुरस्कार रकम हस्तान्तरण गरिने श्रम रोजगार पत्रकार समूहले जनाएको छ । 

श्रम रोजगारको क्षेत्रमा कलम चलाउने संचारकर्मीहरुको दक्षता अभिवृद्धि गर्ने, उत्कृष्ट कार्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१९ मा श्रम रोजगार पत्रकार समूहको स्थापना गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!