डाटा केबलले घाँटी कसेर श्रीमानको हत्या, दुई वर्षदेखि भारतीय नागरिकसँग थिइन् प्रेममा

Posted on: 05 Jun, 2023

जेठ २२, रुपन्देही ।  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ पर्सावलमा श्रीमान्‌को हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १४ पर्सावलकी एक महिलाले मोबाइलको डाटा केबलले घाँटी कसेर श्रीमानको हत्या गरेकी हुन्।

एक भारतीय साथीको सहयोग लिएर हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या गर्न सहयोग गर्ने भारतीय नागरिक र हत्या भएका व्यक्तिको श्रीमती हशिवुन भारतमा सँगै पढेका साथी रहेको प्रहरीले जनाएको छ । उनीहरू विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए ।


श्रीमानले आफ्ना क्रियाकलापका बारेमा थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको र हत्यापछि दुवै जना मिलेर शवलाई नजिकै रहेको छिमेकीको खेतमा पुरेको प्रहरीले जनाएको छ ।

दुई जना छोरा रहेका उनको परिवारमा घरायसी झगडा हुने गरेको थियो। आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने भएकाले साथीलाई बोलाएर हत्या गरेको प्रहरी समक्ष उनले बयान दिएकी छन्।

हत्यापछि हशिवुनले आफ्ना श्रीमान् बिहीबार रातिदेखि हराएको भन्दै खोजीका लागि प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । तर अनुसन्धान गर्दै जाँदा आफैंले श्रीमान्‌को हत्या गरेर आफैंले प्रहरीको उजुरी दिन आएको तथ्य खुलेको हो ।

 हत्यामा संलग्न भारतीय नागरिकको नाम प्रहरीले खुलाएको छैन । फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा उनीहरूमाथि कर्तव्य ज्यानमा मुद्दा अगाडि बढाइएको डीएसपी पाण्डेले जानकारी दिए। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!