उपनिर्वाचनमा एमालेले गठबन्धन नगर्ने, को–को बन्दैछन् उम्मेदवार ?

Posted on: 27 Mar, 2023

चैत १३, काठमाडौँ | नेकपा एमालेले आगामी वैशाख १० गते हुने तीनवटै क्षेत्रको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ । वैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ ।


को–को हुँदैछन् उम्मेदवार ?

जिल्ला र प्रदेशबाट सिफारिस भएर आएकालाई केन्द्रले उम्मेदवार तोक्ने भएकाले चितवन, बारा र तनहुँमा एमालेले कसलाई उठाउँदैछ भन्ने प्रस्ट भैसकेको छैन । तर एमाले नेताहरूका अनुसार चितवनमा मङ्सिरमा निर्वाचन लडेर पराजित भएका कृष्णभक्त पोखरेल, बागमती प्रदेश सभामा पराजित देवी ज्ञवाली र एमाले जिल्ला अध्यक्ष समेत रहेका र स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा रेनु दाहालसँग पराजित भएका विजय सुवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । मङ्सिरको निर्वाचनमा चितवन २ रास्वपाका रवि लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उमेश श्रेष्ठले १४हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६५२मत ल्याएका थिए । सो क्षेत्रमा राप्रपाका रवीन अधिकारीले ९५५ मत ल्याएका थिए ।

बारा २ मा भने गत निर्वाचनमा एमालेले उम्मेदवार उठाएको थिएन । सो क्षेत्रबाट जसपाका रामसहाय यादव १३ हजार ८२२मतसहित निर्वाचित भएका थिए । सो क्षेत्रमा माओवादी केन्द्रका शिवप्रसाद कुशवाहाले १३ हजार ४६८ र स्वतन्त्र उम्मेदवारहरू रामकिशोर यादव ११ हजार ४३, रवीन्द्रप्रसाद यादव १० हजार ७५०, अरुणकुमार ज्ञवाली ७ हजार ६९८, तथा जनमतका राजेश साहले २ हजार ७२५र नागरिक उन्मुक्तिको तेजबहादुर भगतले ११११ ल्याएका थिए । एमाले मधेस प्रदेश अध्यक्ष ज्वाला कुमारी साहले वार २ मा यो पटक कसलाई उम्मेदवार बनाउने भन्ने छलफल चलिरहेको बताइन् । ‘छलफल भइरहेको छ केही दिनमा टुङ्गोमा पुग्छौ’, साहको भनाइ छ । त्यस्तै एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले यसपटक आफ्नो पार्टीको उम्मेदवारले बारा २ मा जित्ने भन्दै सोही किसिमको उम्मेदवार उठाउने बताए ।

त्यस्तै तनहुँमा सो पार्टीले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने लगभग निश्चित जस्तै रहेको एमाले नेताहरू बताउँछन् । खनालले पार्टीले निर्णय गरे आफू पछि नहट्ने समेत बताउँदै आएका छन् । खनाल मङ्सिरको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवार बनेका थिए । गृह जिल्ला तनहुँ भएका खनाल मङ्सिरको निर्वाचनमा पनि तनहुँबाटै निर्वाचन लड्न चाहन्थे । तर पार्टीले त्यसबेला एकबहादुर राना मगरलाई उठाएको थियो । उनले १९ हजार ९८१ मत ल्याएका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार  गोविन्दराज जोशीले ६,८८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४४ र राप्रपाका उम्मेदवारले २ हजार ४ सय मत ल्याएका थिए । खनालले भने, ‘तनहुँका साथीहरू चुनाव लड्न आइदिनुपर्‍यो भनिराख्नुभएको छ । उहाँहरू मेरो घरमै आएर रिक्वेस्ट गर्नुभएको थियो । मैले पार्टीको निर्णय मान्छु भनेको छु ।’ जवाफमा उनले आफूलाई भन्दा पनि अध्यक्ष कमरेडलाई भन्न सुझाव दिएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!