रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड

Posted on: 24 Mar, 2023

चैत १०, काठमाडौँ | गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको छ । पोखराको लेकसाइडमा खुलेको होटल पौवाको आज उद्घाटन गर्दै उहाँले राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध नबन्ने धारणा राख्नुभयो ।

“समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न देशमा उद्योग, व्यवसाय फस्टाउनुपर्छ, रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो । सामूहिक लगानीमा जोड दिँदै राज्यले व्यवसायमैत्री नीति ल्याउनुपर्ने उहाँको भनाइ छ । उहाँले नेपालमा सेवामूलक व्यवसायको पनि उत्तिकै भविष्य रहेको बताउनुभयो ।

होटल पौवा प्रालिले रु १० करोडको लगानीमा पोखरामा आतिथ्य सेवा विस्तार गरेको हो । लेकसाइडमा सञ्चालनमा आएको उक्त होटल पौवाको एघारौँ शाखा हो । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो ।

आतिथ्य सेवामा प्रालिले हालसम्म झन्डै रु ६० करोड लगानी गरिसकेको होटलका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताउनुभयो । होटलका देशभरका शाखामा गरी तीन सय बढीले रोजगारी पाएको उहाँको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!