गृह नपाए उपप्रधान बनेर अरु कुनै मन्त्रालयमा जाँदै रवि लामिछाने, आजै सपथको सम्भावना

Posted on: 02 Feb, 2023

माघ १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान मन्त्रीका हैसियतमा सरकारमा सहभागी हुने भएका छन् । उनले गृह नभए पनि अरु कुनै मन्त्रालय पाए पनि आफू सरकारमा सहभागी हुने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् ।

स्रोतका अनुसार उनले आजै उपप्रधानमन्त्रीका रुपमा आजै सपथ लिने तयारी छ । तर, अहिलेसम्म उनले कुन मन्त्रालय सम्हाल्ने भन्ने टुंगो लागिसकेको छैन । यसअघि गत शुक्रबार सर्वोच्च अदालतले उनले प्रयोग गरिरहेको नागरिकता अवैध भन्ने ठहर गरेपछि उनको सांसद, मन्त्री, पार्टी सभापतिलगायतका पदहरु गुमेको थियो ।


गत आइतबार नै उनले प्रक्रिया पुर्याएर नेपाली नागरिकता लिएका छन् । त्यसपछि फेरि पार्टी सभापति चयन भएका उनले योबीचमा बारम्बार आफूलाई गृह मन्त्रालय नै दिनु पर्ने अडान राखेका थिए । चितवनमा हुने उपनिर्वाचनमा जित निकालेर आउने दाबीसहित उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न दबाब दिएका थिए । तर, प्रचण्डले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आउनुअघि उनलाई गृहमन्त्री नियुक्त गर्न नसक्ने अडान लिएका थिए । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पछिल्लो समय यसअघि सरकार बनाउँदा भागवण्डामा गृह राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको भन्दै लामिछानेलाई गृहमन्त्रीमा नियुक्त गर्न पर्ने अडान लिएका थिए । तर, लामिछाने र ओली दुवैको दाबीलाई प्रचण्डले सहजै स्वीकार गरेनन् । लामिछानेले आफू सरकारमा भए आफूमाथि दोहोरो नागरिकता प्रयोग गरेको आरोपमा परेको उजुरीको समाधानका लागि सहज हुने भन्दै सरकारमा सहभागी हुनै पर्ने माग राख्दै आएका थिए । रविले गृहबाहेक अरु कुनै मन्त्रालयमा पनि आफू जान तयार रहेको बताएपछि प्रचण्डले गृह मन्त्रालय माओवादी केन्द्रसँगै राखेर रविलाई अर्को कुनै जिम्मेवारी दिन लागेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!