रोनाल्डो साउदी अरेबियाको क्लबमा आबद्ध हुने हल्ला कति सत्य?

Posted on: 06 Dec, 2022

मङ्सिर २०, काठमाडौँ | गत नोभेम्बर १४ मा आफू आबद्ध क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध तितो पोखेपछि पोर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो विवादमा आए। पेरेस मोर्गनसँगको एक अन्तर्वार्तामा उनले आफ्नो करिअर इंग्लिस क्लब युनाइटेडले सिध्याउन खोजेको बताएका थिए।

त्यसपछि रोनाल्डो आफ्नो टोली पोर्चुगलको कप्तानी गर्दै यतिबेला विश्वकप दौरान कतारमा छन्। उनको टोली क्वार्टरफाइनल प्रवेशका लागि मंगलबार राति स्विट्जरल्याण्डसँग खेल्दैछ ।


रोनाल्डोको अभिव्यक्तिले युनाइटेडमा भुइँचालो आएको छ। अब रोनाल्डोलाई फेरि म्यानचेस्टर फर्काउने सोचमा क्लब छैन। यस्तोमा उनी अहिले क्लबविहीन जस्तै छन्।   

रोनाल्डोलाई लिनलाई युरोपकै ठूला क्लबले खासै चासो दिएका छैनन्। यस्तोमा उनीबारे विभिन्न हल्ला आइरहेका छन्। यसैबीच, स्पेनिस पत्रिका मार्काले आगामी जनवरी १ देखि रोनाल्डो साउदी अरेबियाको क्लब अल नास्सरमा आबद्ध हुने दाबी गरेको छ। विश्वकपमा व्यस्त रहका रोनाल्डोले यसबारे केही बताएका छैनन्। साथै, अल नास्सर क्लब पनि मौन छ। 

यसर्थ, रोनाल्डोको स्थानान्तर बारेका हल्ला सत्य हुनसक्ने सम्भावना लगभग शतप्रतिशत भए पनि आधिकारिक पुष्टि भने भएको छैन। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!