असोज १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानपीडितलाई राहत वितरण सुरु गरिएको बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा उनले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य दुई दिनभित्र गरिसक्ने पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने बताए । विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको उनले बताए ।
क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत् आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले जानकारी दिए ।
प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले सरकारका कामको विवरण सुनाएका थिए ।
पछिल्लो विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते भएको पनि सरकारले जनाएको छ ।
उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको अर्यालले बताएका छन् ।
अविरल वर्षापछिको विपाद्बाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!