तीन मन्त्रालयमा कसिलो अडानपछि झलनाथलाई प्रश्न- एमालेसँग एकताको तयारी थाल्नुभएको हो ?

Posted on: 28 Mar, 2023

चैत १४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले सरकारमा जाँदा तीन मन्त्रालयको अडान नछाडेको प्रष्ट पारेका छन् ।

मिटरब्याज पीडितको आन्दोलनलाई समर्थन गर्न बाँनेश्वर पुगेका नेता खनालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीलाई तीन मन्त्रालयबाट घट्न नसक्ने सन्देश दिइसकेको बताए ।

उनले आफ्नो पार्टीले हैसियतभन्दा धेरै नमागेको जिकिर गरे । उनले भने, ‘हाम्रो हैसियत कसले बताइदिने ? हामीले जे हैसियत छ त्यहीअनुसार गरिरहेका छौं। हामीसँग १८ सांसद छन्। त्यसैले तीनवटा मन्त्रालय माग गरेका छौं ।’

तपाईहरुले प्रधानमन्त्रीसँग मन्त्रालयको माग गर्दा कसिलोसँग अडान राख्दै हुनुहुन्छ, त्यसैले गर्दा तपाईं एमालेसँगको तयारी तयारी थाल्नुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘होइन, तपाईंहरुले अनुमानको आधारमा धेरै कुरा गर्न खोज्नुहुन्छ । यो अनुमानबाहेक अरु केही पनि होइन। नेकपा एकीकृत समाजवादी एउटा स्वतन्त्र र क्रान्तिकारी पार्टी हो । यो पार्टीको आफ्नो नीति, सिद्धान्त, लक्ष्य र कार्यक्रम छ । त्यसको आधारमा हामी अगाडि बढ्छौं । अरु कुनै समूहसँग नीति र सिद्धान्त मिल्ने भने पार्टी एकीकृत पनि गर्छौं । होइन भने हामी दृणतापूर्वक आफ्नो बाटोमा हिँड्छौं ।’

उनले नीति मिल्नेहरुसँग कार्यगत एकता पनि गर्नसक्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!