कांग्रेस नेता खाणले भेटे प्रधानमन्त्री र उपेन्द्र यादवलाई

Posted on: 24 Mar, 2023

चैत १०, काठमाडौँ | पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् ।  केन्द्रमा गठबन्धन सरकार निर्माण र प्रदेशमा एमालेलाई हटाए गठबन्धन अनुकूल सरकार बनाउने कसरत भएका बेला नेता खाणले प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवलाई छुट्टाछुट्टै भेटेका हुन् ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेका उनले जसपा अध्यक्ष यादवलाई जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेटका हुन् । प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावशालीरूपमा सञ्चालन गर्ने विषयमा कुराकानी भएको थियो ।

‘प्रधानमन्त्री प्रचण्डज्यूसँग बालुवाटारमा भेट भयो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारी रूपमा कसरी सञ्चालन गर्ने भन्नेबारेमा कुराकानी भयो,’ नेता खाणले भने  । संघीय सरकार विस्तार भएपछि प्रदेशहरूमा पनि गठबन्धन अनुकुलका सरकार विस्तार गर्नबारेमा कुराकानी भएको उनको भनाइ छ ।

गठबन्धनलाई बलियो बनाउनुपर्छ भनेर लागिरहेका नेता खाणसँग प्रधानमन्त्री प्रधानमन्त्रीले सत्ता भागबण्डाबारे पनि कुराकानी गरेका थिए ।   जसपा अध्यक्ष यादवसँग सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटमा पनि केन्द्र सरकार विस्तार, प्रदेशमा गठबन्धन अनुकूलको सरकार निर्माणलगायतबारे कुराकानी भएको खाणले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!