बढुवा भएकै दिन एआईजी ज्ञवाली अख्तियारको निगरानीमा, नागरिकता छानबिन गर्न गृहलाई निर्देशन

Posted on: 21 Mar, 2023

 चैत ७, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिआइजी (सोमबार मात्रै एआइजी बढुवाको निर्णयमा परेका) श्यामलाल ज्ञवालीको नागरिकता र उमेर विवादका सम्बन्धमा आवश्यक छानबिन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले सोमबारमात्र ज्ञवालीसहित ५ जनालाई एआईजीमा बढुवा गरेको थियो । 

उमेर ढाँटेर जागिर खाएको प्रमाणसहित उजुरीपछि अख्तियारले कारबाही प्रक्रियाका लागि चासो देखाएको हो । कैलालीका शेरबहादुर चन्दले ज्ञवालीविरुद्ध गत फागुनको दोस्रो साता अख्तियारमा उजुरी गरेका थिए ।

अख्तियारले प्रहरीका उच्च अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण मागेर अध्ययन गर्न केही शंकास्पद डीआईजीको शैक्षिक प्रमाण पत्र र नागरिकता विवरण मागेकोमा ज्ञवालीमाथि थप छानबिन आवश्यक परेपछि विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन सोमबार साँझ गृहमा निर्देशन आएको स्रोतले बताएको छ । स्रोतका अनुसार गृहलाई प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ ।

ज्ञवालीले २५ वर्ष १० दिनमा इन्सपेक्टरमा भर्ना भएको अख्तियारको छानबिनमा देखिएको छ । तर, प्रहरी नियमावलीअनुसार इन्सपेक्टरमा भर्ना हुन २० वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्छ । २०५० मंसिरको विज्ञापनअनुसार इन्सपेक्टरमा भर्ना भएका ज्ञवालीको नागरिकताअनुसार १० दिन बढी नाघेको पाइएपछि गृहलाई छानबिन गर्न भनिएको हो । उनले सुरूमा प्यूठान जिल्ला प्रशासनबाट नागरिकता लिएको र पछि आएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रतिलिपि लिएको उजुरीमा भनिएको छ । नागरिकतामा ज्ञवालीको जन्ममिति २०२४ चैत २१ रहेकोमा सिटरोल र शैक्षिक योग्यतामा भने २०२५ भदौ २६ रहेको बताइएको छ । उनको जन्ममिति ५ महिना ५ दिन फरक रहेको स्रोतले  बताएको छ ।

यसअघि उमेर ढाँटेर सेवा प्रवेश गरेका डीआईजी अशोक सिंहले फागुन १० मा राजीनामा दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!