काठमाडौंमा हैजाका बिरामी भेटिए, के के हुन् लक्षणहरु ?

Posted on: 16 Jun, 2022

असार २, काठमाडौं | काठमाडौंमा हैजाको बिरामी भेटिएको पुष्टि भएको छ ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज हैजाको बिरामी उपचारका लागि पुगेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । काठमाडौ मोडेल अस्पतालले ती बिरामीमा एन्टिजेन पोजेटिभ देखिएपछि रिफर गरी शुक्रराज अस्पतालमा पठाएको हो ।

उपत्यकामा भेटिए हैजाका बिरामी, यस्ता हुन्छन् लक्षणहरु - Sawal Media

हैजा पुष्टि भएकी महिलासँगै बस्ने अर्की महिलामा पनि लक्षण देखिएकाले हैजाको आशंका गरिएको अस्पतालले जनाएको छ । दुवैजनाको  आईसीयूमा उपचार भइरहेको छ । यस्तै, टेकु अस्पतालमा आजमात्रै झाडापखालाका बिरामी १२ जनाभन्दा बढि इमर्जेन्सी उपचारका लागि आएको उनले बताए ।

लक्षणहरु के के हुन्?

शरीरमा हैजाको जीवाणुको संक्रमण भएमा पातलो दिसा लाग्छ । योसँगै गोडा बाउँडिने, तारन्तार बान्ता हुने, छाला चाउरी पर्न थाल्ने, आँखा गाडिनुका साथै मुख सुक्‍खा हुने लक्षण देखिन्छ । यसका साथै रक्तचाप कम हुने, धेरै पसिना आउने, रिङ्गटा लाग्ने र टाउको अत्यधिक दुख्‍ने गर्छ ।  लामो समयसम्म उपचार नगरिए मुटुको धड्कन छिटो छिटो बढ्ने र बिरामी बेहोससमेत हुन्छ । अन्त्यमा रक्तसञ्चार बन्द भएर बिरामीको मृत्युसमेत हुने गर्छ ।

बच्ने उपाएहरु 

यसबाट जोगिन पानी राख्‍ने भाँडो सफा हुनुपर्दछ । भाँडो सफा हुँदा हुँदै पनि बाहिरको धुलो र किटाणु पर्नसक्ने भएकाले पानीलाई सधैँ छोपेर राख्‍नुपर्छ ।  सकेसम्म पानी उमालेर पिउनु पर्छ । अझ काठमाडौं उपत्यकाका धेरै ठाउँमा खानेपानीको पाइपमा ढल मिसिने भएकाले सकेसम्म खानेपनी फिल्टर गरी उमालेर पिउनुपर्छ ।  काँचो खानेकुरा सकेसम्म खानु हुँदैन । गाँजर, मूला, काँक्रो र स्याउ जस्ता नपकाई खान मिल्ने खानेकुरा राम्ररी सफा पानीले पखाल्नुपर्छ ।  बाहिरबाट घर आउनेबित्तिकै हातधुने बानी बसाल्नु पर्छ । सकेसम्म खाना बनाउनुअघि साबुन पानीले हात धुने बानी गर्नुपर्छ । खाना खानुअघि धोएको हात सफा कपडाले सुख्खा बनाएर मात्रै खाना खाने । साबुन नलगाई धोएको हातबाट हैजा रोकिँदैन । त्यसैले साबुनको प्रयोग राम्ररी गर्नुपर्छ ।

धेरै पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने जस्ता समस्या देखिए स्वास्थ्यकर्मीलाई भन्‍ने र सकेसम्म छिटो चिकित्सकलाई देखाउनुपर्छ । यस्तै खानेपानी शुद्धीकरण गरेर पिउने, धमिलो पानीमा उमालेर वा पीयूषको प्रयोग गर्ने र  हावाबाट फैलने रोग सर्न नदिन मास्कको प्रयोग गर्नुपर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!