नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिन सभामुख घिमिरे मनामास्थित नेपाली दूतावासमा

Posted on: 14 Mar, 2023

फागुन ३०, काठमाडौँ | अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु)को १४६औँं महासभामा भाग लिन बहराइन पुग्नुभएका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको छ ।

मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुग्नुभएका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझ्नुभएको हो ।

अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिनुभएको थियो ।

भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौँमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा समेत राख्नुभएको थियो ।

सभामुखले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धिलगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राख्नुुभएको जानकारी दिनुभएको थियो । 

कार्यक्रममा नेताहरु रमेश लेखक, हितराज पाण्डे, इन्दु कडरियालगायत उपस्थित हुनुहुन्थ्यो । छ दिने भ्रमण सम्पन्न गरी सभामुख नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार स्वदेश फर्कंदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!