मेनपावर व्यवसायीलाई श्रममन्त्रीको चेतावनी– ‘गलत गर्नेलाई कुनै हालतमा छोड्दिन’

Posted on: 19 Jan, 2023

माघ ५, काठमाडौँ | नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले गलत गर्नेलाई कानूनी दायरमा ल्याउने बताएका छन् । मन्त्रालयमा शुभकामना दिन आएका मेन पावर व्यवसायीहरूसँगको कुराकानीमा मन्त्री अर्यालले गलत गर्नेलाई कुनै पनि हालतमा नछाड्ने बताए ।  नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च लगायतका मेन पावर व्यवसायीले बिहीबार मन्त्री अर्याललाई भेटेका थिए । भेटको क्रममा आफु नियम कानूनको पालन गर्न प्रतिबद्ध रहेको बताएका हुन् । 

‘म नियम कानूनभन्दा एक इन्च तलमाथि गर्दिन । व्यवसायीमा पीर मर्का पनि म आफैं समाधान गर्नतिर लाग्छु । तर, गलत गरेको खण्डमा भने छोड्दिन् ।’ उनले भने ।  आफ्नो बारेमा मिडियामा अनेकन खाकका टिकाटिप्पणी आइरहेको भन्दै उनले त्यसले आफुलाई कुनै फरक नपर्ने प्रष्ट पारे । ‘मेरो काम के हो भन्ने म आफैंलाई थाहा छ । मिडियामा आफ्नो बारेमा अनेकन कुरा आइरहेका छन् । त्यसले मेरो काममा केही फरक पर्दैन,’ उनले भने,  ‘जसले जे भनेपनि मलाई नै थाहा छ । तर, म व्यवसायीको हक हित र राज्यको ऐन कानुनभन्दा तलमाथि गर्दिन । मेरो कार्यशैलीले भोलिको दिनमा थाहा हुनेछ ।’

 व्यवसायी र श्रमिकको हक हितका लागि आफु कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेका थिए । सरकार नियम कानून अनुसार चल्ने भन्दै गल्ती नगरेर श्रमिकको हितलाई ध्यानमा राखेर काम गर्न व्यवसायीहरूलाई सुझाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!