यूएईमा अब सिधै कामका लागि आवेदन गर्न सक्ने, कसले पाउँछन् यस्तो सुविधा ?

Posted on: 06 Nov, 2022

कात्तिक २०, काठमाडौँ । यूएईमा निश्चित पेशागत व्यक्तिहरुले अब सिधै कामका लागि आवेदन गर्न सक्ने भएका छन् । यो सुविधा विश्वभरीका आवेदकहरुले पाउने बताइएको छ । 


विश्वभरबाट युएईको यूएईमा अस्पताल र क्लिनिकहरूका लागि दक्ष स्वास्थ्यकर्मी आपूर्ति गर्ने उदेश्यले युएईले विशेष नयाँ नीति लिएको जनाएको छ । यो सुविधालाई चिकित्सक तथा नर्सजस्ता व्यवसायिक पेशा भएका व्यक्तिहरुले उपयोग गर्न पाउनेछन् । यो व्यवस्थासंगै युएईमा दक्ष स्वास्थ्यकर्मी जनशक्तिको आपूर्तिमा सहज हुने आबुधाबी स्वास्थ्य विभागले जनाएको छ । यसरी कामदार आपूर्तिको लागि विभागले ‘कावाडेर’ नामको अनलाइन एप्लिकेसन (एप्स) सार्वजनिक गरेको छ । उक्त एपमार्फत युएईमा मेडिकल क्षेत्रमा रहेका डिमाण्डबारे थाहा पाउनुको साथै निशुल्क आवेदन गर्न सकिनेछ । 

बिभागका अनुसार अनलाइनबाटै युएई रोजगारको लागि आवेदन गर्न सकिने व्यवस्था भएकोले बिचौलियाहरुको सहयोग बिनै विदेशी दक्ष चिकित्सक तथा नर्सहरूले रोजगार पाउन सक्नेछन् । साथै अनलाइनबाटै रोजगारीका लागि दिएको आवेदनमा छलफल गर्न, आफूले पाउने सेवा-सुविधा तथा अरु सुविधाबारे समेत जानकारी पाउनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!