वैदेशिक रोजगारीमा पठाउने भन्दै ८४ लाख रुपैयाँ ठगीको आरोपमा एक जना पक्राउ

Posted on: 02 Nov, 2022

कात्तिक १६, सुनसरी | सुनसरीमा एक पुरुषले वैदेशिक रोजगारीमा पठाउने भन्दै ८४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

पक्राउ पर्नेमा ‘युएस पलाउ जव सर्भिस’ नामक कम्पनीका सञ्चालक सुनसरीको इनरुवा नगरपालिका ३ का ३४ वर्षीय राजीवजङ्ग थापा रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार वैदेशिक रोजगारीका लागि पलाउ पठाउने भन्दै १२ जनाबाट ८४ लाख ठगी गरेको आरोपमा प्रहरीले  थापालाई पक्राउ गरेको हो ।

उनले ०७३ सालमै जनही सात लाख रुपैयाँ रकम लिएर फरार रहेको एसपी ढकालले जानकारी दिए । थापालाई वैदेशिक रोजगार न्यायधीकरण काठमाडौंले २०७६ असार ८ गते १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवानाको फैसला भएको सुनाएको थियो । यस्तै, बिगो बापत १ करोड २६ लाख भराउने फैसला भएको थियो । तर, थापा फरार रहेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मंगलबार (हिजो) पक्राउ गरेको हो । इनरुवा नगरपालिकास्थित गाँउघरबाटै पक्राउ गरी सजाय भुक्तानका लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।

सुनसरीमा आर्थिक वष २०७९।०८० मा मात्रै एक सय ३२ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको जनाएको छ । राजधानी दैनिकबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!