वैदेशिक रोजगारीसम्बन्धी उजुरी अनलाइनबाटै दिन मिल्ने, यस्तो छ तरिका !

Posted on: 11 Aug, 2022

साउन २६, काठमाडौँ । के तपाईं वा तपाईंको आफ्नो मान्छे वैदेशिक रोजगारीका क्रममा समस्यामा पर्नुभएको छ ? यदि समस्यामा पर्नुभएको छ भने अब अनलाइनबाटै उजुरी दिन मिल्ने भएको छ । 


वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका श्रमिक वा उनका परिवारले न्याय, उद्धार तथा राहतको लागि वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीबाटै पहल गर्न सक्ने वैदेशिक रोजगार विभागले जनाएको छ । म्यानपावर तथा एजेण्टले ठगेको, गन्तव्य देशमा भनेअनुसार काम नपाएको, विदेशमा अलपत्र परेकाे, दुर्घटना वा बिरामी भएको लगायतका वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण उजुरी अनलाइनबाटै दर्ता गर्न मिल्छ ।

त्यसको लागि वैदेशिक रोजगार विभागको वेबसाइट https://dofe.gov.np/ मा गई त्यसको दायाँ माथिल्लो भागमा उजुरी भन्ने अप्सन छ । त्यहाँ क्लिक गरेपछि उजुरी र गुनासोका विभिन्न प्रकारहरु देखिन्छन् । त्यसमध्ये आफूले उजुरी गर्न चाहेको अप्सनमा क्लिक गरेपछि त्यहाँ विभिन्न विवरण माग्छ । त्यो सबै भरेर सबमिट गरिसकेपछि निवेदन विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मा प्रविष्ट हुन्छ । विभागका अनुसार त्यही उजुरीको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।

उजुरी गर्दा प्रमाण वा आधार पुष्टि हुने कागजात पेस गर्नुपर्ने विभागले जनाएको छ । यस्तै आफूले दिएको उजुरी के भइरहेको छ भन्ने बुझ्न विभाग अन्तर्गत उद्धार तथा राहत शाखाको टिलेफोन नम्बर ०१४७९२६४८ मा सम्पर्क गरेर उजुरीको अद्यावधिक विवरण पनि प्राप्त गर्न सकिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!