हुण्डी कारोबारमा संलग्न ६४ बर्षीय बृद्ध सहित तीन जना पक्राउ

Posted on: 09 Aug, 2022

साउन २४, काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक करोड भन्दा बढी हुण्डी कोरोबारमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले पक्राउ गरेकाहरुबाट नगद ७४ लाख रुपैयाँ र विभिन्न वित्तीय संस्थाको नाममा काटिएका २६ लाख ३२ हजार ७५० रुपैयाँ बराबरको चेकसहित बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत राजस्थान शिखर जिल्ला देवथला घर भई काठमाडौं बबरमहल बस्ने ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भई जोरपाटी बस्ने २० वर्षीय रामहरी दुलाल र रौतहट चन्द्रपुर नगरपालिका–४ घर भई चाबहिल बस्ने २४ वर्षीय सुदिप आचार्य रहेका छन् ।

हुण्डी कारोबारमा संलग्न भनिएकाहरुले काठमाडौं महानगर–१८ नरदेवी क्षेत्रमा गैरकानुनी रुपमा हुण्डीको कारोबार गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोहि सूचनाको आधारमा सोमबार साँझ नगद र चेकसहित उनीहरूलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!