अल अरेविया ओभरसिजलाई पनि दफा ४४ अन्तर्गत ठगि मुद्दा दायर, ८७ लाखको मागदावी

Posted on: 04 Aug, 2022

साउन १९, काठमाडौँ । वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको अल अरेविया ओभरसिज प्रालिका तीन जना सञ्चालकहरु बिरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ । 

बिभागले दायर गरेको मुद्दा अनुसार संस्थाका सञ्चालक अमरबहादुर गुरुङ समेतले आकर्षक तलब सहित पोल्याण्ड तथा चेक रिपब्लिक मुलुकमा वैदेशिक रोजगारमा पठाइदिने भनि यज्ञराज सुनुवार सहित पीडितहरुसँग अन्ठाउन्न लाख र राहदानी लिएर वैदेशिक रोजगारमा नपठाई ठगि भएको जाहेरी बिभागमा दर्ता भएको थियो । पीडितहरुले दिएको जाहेरीको आधारमा बिभागबाट अनुसन्धानको क्रममा इजाजतपत्रवाला अल अरेविया ओभरसिजका संचालकहरु अमर बहादुर गुरुङ, भरत बहादुर बुढाथोकी र मोहनप्रसाद चापागाई समेतले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कसुर गरेको पुष्टि हुन आएको बिभागले जनाएको छ । त्यसै अनुसार प्रतिवादीहरुलाई ऐनको दफा ४४ अनुसार कारवाही हुने र पीडितहरुबाट ठगि लिएको बिगो र सोको ५० प्रतिशतले हुन आउने हर्जाना क्षतिपूर्ति बापतको जम्मा ८७ लाख मागदावी सहित बिभागले न्याधिकरणमा मुद्दा दायर गरेको हो । वैदेशिक रोजगार ऐनको दफा ४४ अन्तर्गत निवेदन हुँदा कसुर गर्ने म्यानपावर खारेज हुने प्रावधान छ । 

विभागले नयाँ आर्थिक बर्ष सुरु भएको पछिल्लो १९ दिनमा ५ वटा संस्थाविरुद्ध दफा ४४ लगाएरै ठगी मुद्दा दायर गरेको छ । यसअघि बिभागले मेरिगोल्ड ओभरसिज, दीपज्योति ओभरसिज प्रालि, द हिमालय एचआर प्रालि र एस टि एल ट्रेड लिंक प्रा लि बिरुद्ध वैदेशिक रोजगार ऐनको दफा ४४ अनुसार कारवाहीको लागि न्याधिकारण समक्ष मुद्दा दायर गरेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!