मेरिगोल्ड ओभरसिज म्यानपावर विरुद्ध ठगि मुद्दा दायर, संचालक सहितबाट २ करोड ७९ लाख माग

Posted on: 03 Aug, 2022

साउन १८, काठमाडौँ । वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिज प्रा.लीका सञ्चालक र कर्मचारी विरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ । संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेन लगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सय रकम लिई रोजगारीमा नपठाइ ठगी गरेको भन्दै उजुरी विभागमा आएकाले उक्त उजुरीका आधारमा न्यायाधिकरणमा मुद्दा दायर गरिएको हो । 

विभागले अनुसन्धान गर्दा संस्थाका सञ्चालक रविन्द्र कुमार श्रेष्ठ, भावनी प्रसाद कोइराला, याम बहादुर कार्की र कर्मचारी अमिर थुलुङ्गेले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिमको र गणेश प्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेको पुष्टि भएको छ । उनीहरुले ठगी गरेको ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सयको ५० प्रतिशतले हुन आउने हर्जना क्षतिपूर्ति वापतको ९३ लाख ७ हजार ६ सय समेत गरि २ करोड ७९ लाख २२ हजार ८ सय पिडितहरुलाई दिलाउने गरी निवेदन दिइएको छ । 

मेरिगोल्ड ओभरसिज प्रा.ली विरुद्ध विदेशिक रोजगार ऐन २०६४ को दफा ४४ र ४३ अनुसार कैद सजाए वा संस्था खारेजी हुने प्रावधान अनुसार कारवार्हि गरिने विभागले जनाएको छ । 

विभागले यो आर्थिक वर्षमा ४ वटा संस्थाविरुद्ध ठगी मुदा दायर गरेको विभागका निर्देशक एंव सुचना अधिकारी कृष्ण प्रसाद भुसालले जानकारी दिनु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!