साउदी अरबमा कामदारलाई तीन महिनासम्म दिउँसो बाहिर घाममा काम लगाउन नपाइने

Posted on: 14 Jun, 2022

जेठ ३१, काठमाडौँ | साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई दिउँसो (मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहिर घाममा काम नगर्न आग्रह गरेको छ । 

दूतावासले आज एक विज्ञप्ति जारी गर्दै साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको सूचनाका आधारमा उक्त आग्रह गरेको हो । यो नियम भोली जुन १५ देखि सेप्टेम्बर १५ सम्म लागू हुने जनाइएको छ । 

साउदी अरबमा अत्याधिक गर्मी बढेपछि कामदारको सुरक्षाको लागि त्यहाँको सरकारले कामदारलाई रोजगारदाताले दिउँसो घाममा काम गर्न लगाउन नपाउने नियम ल्याएको हो । 

‘साउदी सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (श्रम मन्त्रालय) ले यही १५ जुन देखि १५ सेप्टेम्बर २०२२ (३ महिना) सम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म  कुनै पनि रोजगारदाताले कामदारलाई बाहिर घाममा गर्नुपर्ने काममा लगाउन नपाइने जनाएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

यदी कुनै कम्पनी वा रोजगारदाताले नियमको अवज्ञा गरेर कुनै कामदारलाई आगामी तीन महिनाको अवधिमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर घाममा काम गर्न लगायो वा काम गर्न बाध्य पा¥यो भने श्रम मन्त्रालयको टोल फ्री नं. १९९११ मा सम्पर्क गरेर उजुरी गर्न समेत अनुरोध गरिएको छ ।

कम्पनीको सुपरभाइजरले वा क्याम्प बोस वा यस्तै अन्य व्यक्तिले कामदारको गल्ती नै नभएको बेलामा पनि कुटपिट गर्ने तथा विभिन्न प्रकारका शारीरिक हिंसा गर्ने गरेको गुनासो आउने गरेको दूतावासले जनाएको छ । यस्तो अवस्थामा प्रहरीलाई ९११ नम्बरमा तुरून्तै सम्पर्क गर्न दूतावासले त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ । 

‘कुटपिट र शारीरिक हिंसा बाहेक कम्पनी वा रोजगारदातासँग कामदारको समस्यासँग सम्बन्धित विषयमा कुनै गुनासा छन् भने श्रम मन्त्रालयको टोल–फ्री नं १९९११ मा सम्पर्क गर्न सक्नुहुनेछ,’ दूतावासले भनेको छ ।

नेपाली कामदारको लागि साउदी अरब वैदेशिक रोजगारको प्रमुख गन्तव्यमध्ये एक हो । साउदीमा चार लाखको हाराहारीमा नेपाली कामदार रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!