निशुल्क भन्दै मलेसिया पठाउन साढे दुई लाख अशुली, बिभागद्वारा गल्फ एसिया म्यानपावरमा छापा

Posted on: 08 Jun, 2022

अनिल अधिकारी । जेठ २५, काठमाडौँ । वैदेशिक रोजगार बिभागले मलेसिया रोजगारमा चर्को अशुली लिने गौशाला स्थित एक म्यानपावरमा छापा मारेको छ । बिभागबाट निर्देशक डम्बर बहादुर सुनुवारको नेतृत्वमा खटिएको टोलीले बुधबार बेलुका गल्फ एसिया म्यानपावर प्रालिमा छापा मारेको हो । 

छापा मारिएको म्यानपावरले बिभागबाट २६०६२४ लटमा ५० जना  कामदार मलेसियास्थित EASTOOL INDUSTRIES SDN.BHD का लागि फ्याक्ट्री वर्कर पदमा पठाउन फ्री भिसा-फ्री टिकट र फ्री लागतको स्वीकृति लिएको बिभागले जनाएको छ । 

उक्त कम्पनीमा पठाउने क्रममा युवाहरुसँग म्यानपावरले प्रतिव्यक्ति दुई लाख पचास हजार मागिरहेको सूचना बिभागले प्राप्त गरेको थियो । उजुरी दिन पुगेकाहरुले म्यानपावरलाई ५०/५० हजार अग्रिम रुपमा बुझाइसकेको जानकारी दिएका छन् । साथै उक्त म्यानपावरले प्रतिव्यक्ति थप दुई लाख मागेपछि बिभागले आकस्मिक छापा मारेको हो । 


बिभागले पैसा बुझाउन पुगेका युवाहरुको पछिपछि गएर छापा मार्ने क्रममा सुरुमा अशुली भएको रकम फेला पार्न नसके पनि खोज-तलासीको क्रममा युवाहरुले बुझाएको नगद रकमको बिटो झ्यालबाट बाहिर फालिएको अवस्थामा भेटिएको छ । बिभाग टोली छापा मार्न पुगेको देखेर म्यानपावरका कर्मचारीले पैसा बाहिर फालेको पाइएको बिभागका निर्देशक डम्वर सुनारले साझा सबाललाई बताए । 

निर्देशक सुनारका अनुसार उक्त म्यानपावरले यस अघिनै सोहि कम्पनीमा ३५ जना कामदार पठाईसकेको छ । आजको लटमा थप १३ जना पठाउन लागेको थियो । 

सरकारले मलेसिया रोजगारमा पठाउन निशुल्क गर्ने समझदारीपछि मलेसिया रोजगार खोलेपनि मलेसिया रोजगार खुलेसंगै बिभिन्न म्यानपावरले चर्को लागत मागिरहेको गुनाशोहरु आईरहेका छन् । सरकारसँगको सझदारीमा भिषा र टिकट, स्वास्थ्य परिक्षण शुल्क रोजगारदाता कम्पनीले व्यहोर्ने तथा कामदार आपूर्ति गरेबापत रोजगार दाताले म्यानपावर कम्पनीलाई कामदारको १५ दिन (आधा महिनाको) तलव बराबरको सेवा शुल्क भुक्तानी गर्नुपर्ने उल्लेख छ । साथै मलेसिया जाने कामदारको बिमा पनि मलेसियाको श्रम कानूनमा व्यवस्था भएअनुसार नै हुने उल्लेख छ । तर डिमाण्ड किन्ने होडबाजी तथा सरकारको कारण र कोरोनाको कारण देखाई लामो समयसम्म म्यानपावर बन्द गरेर बस्दा लागेको घाटा एकै पटक उठाउने गरि केहि म्यानपावरहरुले कामदारको ढाड सेक्नेगरि अशुली गरिरहेको पाइएको छ ।

यो पनि पढ्नुहोस् 

मलेसिया रोजगार: आरबीए अन्तर्गत निशुल्क भनिएका डिमाण्डमा पनि म्यानपावरको छल-कपट

यस बिषयमा तपाइको प्रतिक्रिया...!