निर्वाचनकै दिन दर्जनौं म्यानपावरमा वैदेशिक रोजगारको अन्तर्वार्ता हुने ! (बिज्ञापनहरु सहित)

Posted on: 07 May, 2022

अनिल अधिकारी | वैशाख २४, काठमाडौँ । स्थानिय निकायको चुनावको दिन अर्थात वैशाख ३० गते सबै काम छोडी मत हाल्न जाऔं भन्दै फोनको कलरब्याक टोनमा संदेश आईराख्दा दर्जनौं म्यानपावर कम्पनीले भने वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तर्वार्ता लिने मिति तय गरेका छन् । शुक्रबार छापिएका राष्ट्रिय दैनिक पत्रिकाहरुमा वैशाख ३० गते बिभिन्न देशमा रोजगारको लागि अन्तर्वार्ता लिईने जानकारी सहितका बिज्ञापनहरु छापिएका हुन् । त्यसो त वैशाख ३० गते विज्ञापनहरुलाई वैदेशिक रोजगार बिभागले समेत स्वीकृति दिएको पाइएको छ । 


निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार वैशाख ३० गते निर्वाचन आयोगको निर्देशन अनुसार गृह मन्त्रालयले सुरक्षा निकाय, अत्यावश्यक सवारीहरु, खानेपानी, एम्बुलेन्स, उम्मेदवारले प्रयोग गर्ने सवारी र प्रेस पास भएका संचारकर्मीले प्रयोग गर्ने सवारी बाहेक अन्य सवारी चलाउन पाउदैनन् । त्यसो त उक्त दिन आन्तरिक हवाई सेवा समेत बन्द हुन्छ । प्रवक्ता पौडेलले भने 'सवै मानिस मतदानमा होमिने दिन कसरी म्यानपावरले अन्तर्वार्ता लिन सक्छन् ?' 

म्यानपावरहरुले यस पटक मात्र होइन, यसअघि दशैंको टिकाको दिन पनि अन्तर्वार्ताको मिति तोकेर अन्तर्वार्ता लिने भनि भ्रम छरेका थिए । त्यसैलाई वैदेशिक रोजगार बिभागले स्वीकृति समेत दिएको थियो । वैदेशिक रोजगार अन्तर्गत हुने अनुगमनको पाटो ठप्प हुँदा र सम्बन्धित निकायले नै यस्ता खाले गम्भीर प्रकृतिको बेथितिलाई प्रश्रय दिँदा युवाहरु वैदेशिक रोजगारको बिज्ञापनको जानकारीबाट ठगिएको पाइएको छ । सरकारी निकायले दिने सूचनामै पनि तथ्य नहुँदा मनपरी गर्ने मनोबल बढ्दै गएको पाइएको छ । वैदेशिक रोजगार बिभागले पत्रिकामा छापिएको बिज्ञापन अनुसार अन्तर्वार्ता गरे-नगरेको हेर्नु त परको कुरा कुन दिन अन्तर्वार्ताको मिति राखेको छ भन्ने सम्मको ख्याल नगरेको देखिन्छ । यस सम्बन्धि वैदेशिक रोजगार बिभागको वेबसाइटमै आजको मितिमा गएर म्यानपावरको अन्तर्वार्ताको सूचना हेर्दा वैशाख ३० गते अन्तर्वार्ता लिने भनि तोकिएको देखिन्छ । जुन दिन स्थानिय निर्वाचनको दिन परेको छ । 

यस विषयलाई उठाउदै गर्दा वैदेशिक रोजगार ऐनको नीतिगत प्रक्रिया पुर्याउने उदेश्यले मात्र म्यानपावरहरुले वैदेशिक रोजगारको बिज्ञापन गर्ने गरिएको स्पष्ट हुन्छ । सरकारले वैदेशिक रोजगारमा जाने युवाहरुलाई रोजगारमा जाने प्रयोजनमा सूचना लिन सहज होस् भन्ने अभिप्राय र संबिधानको धारामै व्यवस्था भए अनुरुप रोजगारमा सबैको समान पहुँच हुनुपर्ने बिषयलाई टेकेर वैदेशिक रोजगारमा पठाउने म्यानपावरले राष्ट्रिय दैनिक पत्रिकामा अन्तर्वार्ताको लागि तोकिएको मितिले ७ दिन अगावै बिज्ञापन गर्न अनिवार्यता गरेको छ । तर व्यवहारमा अधिकांश म्यानपावरले राष्ट्रिय दैनिकमा छापेको बिज्ञापन अनुरुप अभ्यास गरेका छैनन् । यस बेथितिको कारण बिज्ञापन हेरेर सम्पर्क गर्ने तथा सम्बन्धित म्यानपावरमा जाने युवाहरुले अनाहकमा दु:ख पाउनु परेको गुनाशो बढ्दै गएको छ । 

कतिपय म्यानपावरहरुले डिमाण्डको पुर्व स्वीकृति अगावै एजेन्ट मार्फत कामदार छनौट गरेर प्रक्रियाको लागि मात्र राष्ट्रिय दैनिक पत्रिकामा अन्तर्वार्ताको मिति तोकेर बिज्ञापन दिने गरेको र त्यस्ता बिज्ञापनले भ्रम छरेको, अनावश्यक रुपमा लक्षित बर्गले दु:ख पाएको गुनाशो आईरहेका छन् । 

बिभागको व्यवस्थापन प्रणालीमै प्रश्न !   

रोजगारमा समान पहुँच संबिधानले दिएको अधिकारको विषय हो । स्वदेशमा होस् वा विदेशमा रोजगारमा लगाउनको लागि कानुनी रुपमै अनुमति पाएकाहरुले युवाहरुलाई रोजगार दिँदा संविधानको मर्मविपरित व्यवहार गर्नुहुँदैन । तर वैदेशिक रोजगारको क्षेत्रमा भने यस सम्बन्धि धेरै बेथिति छन् । 

रोजगार पाउने कुरा प्रतिष्पर्धी र समान अधिकार क्षेत्र भित्रको कुरा हो भन्ने कुरालाई चटक्कै विर्सेर भ्रम छर्ने, सरकारको सूचना प्रणाली र राष्ट्रिय दैनिक पत्रिकाहरुलाई समेत प्रश्न गर्ने बाटो बनाइदिने क्रियाकलापहरु निरन्तर हुँदै आएका छन् । यस्ता विषयलाई बिज्ञापन वोर्ड तथा यस बिज्ञापन सम्बन्धि चासो राख्ने संघसंस्थाहरुले समेत चासो दिएको पाइदैन । 

कुनै पनि इजाजत प्राप्त म्यानपावर कम्पनीले कुनैपनि पुर्व-स्वीकृति प्राप्त रोजगारको माग अनुसारको जानकारी आम जनता माझ पुर्याउन राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन छाप्न अनिवार्य छ । यो अनिवार्य नीति बिभागले चाहेर मात्र ल्याएको भने होइन, यसरी रोजगारको माग सार्वजनिक गर्नपर्नु नेपालको संबिधानकै कार्यान्वयनको महत्वपूर्ण पाटो हो । जसको मुख्य अर्थ रोजगार चाहने जनतालाई रोजगारको अवसरमा समान सूचना र समान पहुँच होस् भन्ने हुन्छ । तर वैदेशिक रोजगार क्षेत्रमा कतिपय वैदेशिक रोजगार व्यवसायीहरुले विज्ञापन गर्नपर्नु बाध्यताको रुपमा मात्र हेरिएको छ । जसको कारण कुनै व्यक्तिले वैदेशिक रोजगारको खोजीमा दैनिक पत्रिका हेरेर वा सरकारकै सूचना व्यवस्थापन प्रणालीको आधारमा कतिपय म्यानपावरसँग सम्पर्क गर्दा डिमाण्ड छैन, कामदार पहिलेनै छानिएको छ, औपचारिकताको लागि मात्र बिज्ञापन दिएको हो भन्ने जस्ता प्रतिक्रिया दिने गरिएको छ । 

यसरी भ्रम छर्नु वैदेशिक रोजगारको नीति बिपरित हुने कुरा धेरैलाई हेक्कानै छैन । त्यसो त यस सम्बन्धि हेर्ने निकाय वैदेशिक रोजगार बिभागमा यो बेथितिबारे जानकारी भएर पनि वेवास्ता गरिदै आएको छ । यस्तो व्यवहारप्रति बिभागले सक्रिय भएर अनुगमन गर्ने हो भने धेरै म्यानपावर कारवाहीको दायरामा आउने देखिन्छ । त्यसो त विज्ञापन आचारसंहितालाई मध्यनजर गर्दा पनि यस खाले जनता झुक्याउने विज्ञापनदातालाई कारवाही सम्बन्धमा आकर्षित हुन्छन् । विज्ञापन दिने, अन्तर्वार्ताको मिति तोक्ने अनि त्यसै आधारमा सम्पर्क गर्दा डिमाण्ड छैन भन्ने,  एजेन्टबाट मात्र मान्छे भर्ति गर्ने जस्ता क्रियाकलाप भईरहेको आम गुनाशो छ । तोकिएको दिन अन्तर्वार्तानै नगर्ने तर बिभागमा अन्तर्वार्ता दिनेहरुको पुर्व निर्धारित सूची पठाउने प्रवृति बढ्दै गएको छ । जसको कारण प्रक्रियागत वैदेशिक रोजगारको सिस्टमनै प्रभावित र भ्रमपूर्ण बन्दै गएको छ । यस खाले क्रियाकलापले बिभागले छड्के अनुगमन गर्ने, गुनाशोको आधारमा कारवाही गर्नुको साटो बिभाग मौन बस्दै आएको छ । 

म्यानपावरहरु फेयर रिक्रुटमेन्ट किन चाहदैनन् ? 

'फेयर रिक्रुटमेन्ट' को मर्म जनतालाई जस्ताको तस्तै रोजगारबारे सूचना दिएर तोकिएकै दिन, तोकिएकै स्थानमा बोलाई, इच्छुक व्यक्तिहरुलाई छनोट प्रक्रिया समेत पारदर्शी गराई छनोट गर्नुपर्ने प्रक्रिया हो । यो प्रक्रियाले वैदेशिक रोजगार क्षेत्र मर्यादित छ भन्ने संदेश दिन्छ । यसरी कामदार छनोट गर्नुपर्ने नीति सहित श्रम तथा रोजगार सम्बन्धि नीति नै बनेको छ । यस विषयको नियमन गर्ने जिम्मेवारी समेत वैदेशिक रोजगार बिभागलाई तोकेको छ । तर केहि म्यानपावर कम्पनीहरुले खुलमखुला त्यसको बर्खिलापमा काम गर्दै आएका छन् । सरकारले एजेन्ट खारेज गरिसकेको अवस्थामा अझै पनि कयौं म्यानपावरका कार्यालयहरुमा सयौं एजेन्टहरुले सिफारिस गरेको पासपोर्ट भेटिने गरेका छन् । त्यसो त म्यानपावरहरुले एजेन्टहरुलाईनै प्राथमिकता दिएर काम गर्दै आएका छन् । जसको कारण म्यानपावरहरु सिस्टममा आउँदा सम्मानित हुने खालको पेशा गरेका छन् तर नतिजा बदनामी कमाईरहेका छन् । 

बेथितिको वेवास्ता गर्दा युरोप लगायत राम्रो मानिएका देश तथा कम्पनीहरुमा रोजगारको लागि युवाहरुको आकर्षण हुने हुँदा कतिपय डिमाण्डमा एजेन्टका मान्छे बाहेक सर्वसाधारको पहुँच हुन छाडेका छन् । एजेन्ट मार्फत छानिएका कामदारले जति भन्यो त्यति लागत बुझाउने तर आम रुपमा छानिएकाहरुले लागत सम्बन्धमा किचकिच गर्ने, बिभागमा उजुरी गरिदिने व्यवसायीहरुको बुझाईको कारण सकेसम्म आम सर्वसाधारणलाई डिमाण्डबारे जानकारी दिनै नपरोस् भन्ने म्यानपावरहरुका सोच हुने गरेका छन् । केहि विदेशका ठूला कम्पनीहरुको डिमाण्डको विज्ञापन विदेशी कम्पनीहरुको करकापमा मात्र आम मानिसको पहुँचमा पुग्ने गरेका छन् तर अधिकांश बिज्ञापनहरुमा वैदेशिक रोजगारमा जान चाहने युवाहरुको पहुँचमा छैनन् । कतिपय धेरै माग भएका डिमाण्डहरु त यस्ता दैनिक पत्रिकामा छापिन्छ, जुन पत्रिका बजारमै भेटिन्नन् । अधिकांश पत्रिकाहरु डिजिटल संस्करणमा अनलाइनबाटै इपेपरमा समेत प्रकाशन हुने गरेका छन् । तर कतिपय म्यानपावरले विज्ञापन छपाउँदा त्यस्तै बजारमा कम पुग्ने र अनलाइन ‘इपेपेर’मा समेत नभेटिने पत्रिका छानी-छानी प्रकाशन गर्ने गरेका छन् । 

यसरी लुकाउँन खोज्दा-खोज्दै पनि कुनै वैदेशिक रोजगारको बिज्ञापनमा कसैको आँखा पुगिहाल्यो भने सकेसम्म फोन नआओस् भन्ने सोचले मोबाइल नम्बरहरु नराख्ने, ल्याण्डलाइन मात्र राख्ने फोन नउठाउने, कार्यालयमै पुगेपनि डिमाण्ड प्याक भईसकेको भन्दै फर्काउने वा बिभिन्न बहानाबाजी गरेर टार्ने गरेको गुनाशो बर्षौंदेखी सुनिदै आएका छन् । 

एजेन्टकै भरमा कामदार भर्ति गर्न वा गरिसकेको कारण त्यसलाई प्रक्रियामा लैजानको लागि मात्र विज्ञापन छाप्ने औपचारिकता भएको छ । अब यसरी विज्ञापन गर्ने म्यानपावर आम युवाहरुको पहुँचमा हुने कुरै भएन । उनीहरुलाई कुन दिन अन्तर्वार्ता राखिएको छ, हेक्का हुने कुरै भएन । कतिपयले त आफ्नो कार्यालयको २ बर्ष अघि परिवर्तन भएको फोन नम्बर समेत दिएर बिज्ञापन गरिरहेका हुन्छन् । जसलाई प्रत्यक्ष युवाहरुसँग जोडिएर काम नै गर्नुछैन उनीहरुको लागि बिज्ञापन झन्झटिलो बनेको छ । 

वैदेशिक रोजगारको व्यवसायीक पारदर्शिता गुम्दै जाँदा व्यवसाय र व्यवसायीमाथि सबैतिरबाट आक्रमण भईरहेको छ । बेथितिको चाङ बढ्दै जाँदा वैदेशिक रोजगार क्षेत्रमा व्यवसाय गर्नेहरु प्रति घृणित व्यवहार, दलाल, चोर, फटाहा जस्ता शब्दको प्रयोग बढ्दै गएका छन् । आम मानिसको पारदर्शिताबाट काम गर्दा व्यवसायी सम्मान्नित त हुँदै हुँदैनन् नै त्यसमा पनि व्यवसाय झनै बदनामीको दलदलमा भासिन पुगेको छ । यस क्षेत्रलाई नियन्त्रण गर्नुपर्ने संस्था झनै बदनाम बन्दै गएका छन् ।

हेर्नुहोस् निर्वाचनको दिन अन्तर्वार्ता भन्दै आएका दर्जनौं बिज्ञापनहरु (यी बिज्ञापनहरु हिजो शुक्रबारका बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा छापिएका हुन्) 


यस बिषयमा तपाइको प्रतिक्रिया...!