श्रममन्त्रीको नेतृत्वमा मलेशिया जाने टोलीले आफ्ना कामदारबारे मलेशियासँग राख्दैछ यी प्रस्ताव

Posted on: 27 Apr, 2022

वैशाख १४, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको नेतृत्वमा बुधवार मलेशिया भ्रमणमा जाने टोलीले बिहीवार मन्त्रीस्तरीय बैठकमा नेपाली कामदारले पाउने सामाजिक सुरक्षासम्बन्धी सुविधामा सुधार गर्न नेपालले मलेशियालाई औपचारिक रूपमा "प्रस्ताव गर्ने" श्रम मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

चारदिने भ्रमणमा नेपाली टोलीले उक्त देशमा बढ्दो नेपाली कामदारको मृत्यु सङ्ख्या घटाउने उपायबारे पनि त्यहाँको गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने बताइएको छ। नेपालीको मुख्य श्रम गन्तव्यमध्येको एक मलेशियामा अझै पनि नेपाली कामदारले विभिन्न समस्याको सामना गर्नु परिरहेको त्यहाँस्थित श्रमिकहरू बताउँछन्।

उनीहरूले मन्त्रीस्तरमा हुने यसपटकको वार्तामा नेपाली कामदारले भोगिरहेका समस्यालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

भ्रमणमा उठाइने विषय

श्रम मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखा हेर्ने उपसचिव थानेश्वर भुसालका अनुसार बिहीवार नेपालका श्रम मन्त्री र मलेशियाका मानव संसाधनमन्त्रीबीच उच्चस्तरीय छलफल हुनेछ।

त्यस क्रममा नेपालले आफ्ना कामदारको हकहितसँग सम्बन्धित विभिन्न प्रस्तावहरू राख्ने र त्यसबारे छलफल हुने उनले बताए।

उनले भने, "कोभिडपछि मलेशिया सरकारले अहिले आफ्नो सीमा खुला गरेको छ। त्यसैले हामी कोभिडपछि मलेशियामा थप रोजगारीको सम्भावनाबारे पनि कुराकानी गर्छौँ।"

हालसम्म अधिकांश अदक्ष कामदारहरू मात्र मलेशिया जाने गरेकामा अब दक्ष कामदार पठाउनका लागि उक्त बैठकमा कुरा गरिने उनले बताए।

त्यसका लागि नेपालमा तालिम केन्द्रहरू सञ्चालनका निम्ति सहयोग गर्न मलेशियासमक्ष प्रस्ताव गरिने उक्त भ्रमणको नेतृत्व गरेका श्रममन्त्री श्रेष्ठको भनाइ छ।

उनले भने, "पहिले दुबई भ्रमणका बेलामा पनि मलेशियासँग हाम्रो साइडलाइनमा कुराकानी भएको थियो। कामदारको दक्षता बढाउने कुरामा उहाँहरू पनि सकारात्मक हुनुहुन्छ।"

श्रेष्ठले बैठकमा मलेशियामा काम गरेर नेपाल फर्किएका कामदारलाई पुन: समाजमा एकीकरण गराउने कार्यमा सहयोग गर्न पनि नेपालले प्रस्ताव गर्ने जानकारी दिए।

बिमासम्बन्धी पेचिलो मुद्दा

मन्त्री श्रेष्ठका भनाइमा नेपालले मलेशियामा कार्यरत नेपाली कामदारका लागि २४ घण्टा नै बिमाको व्यवस्था हुनुपर्ने कुरा यसपटकको बैठकमा उठाउनेछ।

"अहिले कार्यस्थलको मात्र बिमा हुने गरेको छ, त्यसलाई सबैतिर र सधैँका लागि हुने बनाउनुपर्छ भन्ने प्रस्ताव गर्दैँछौँ," श्रेष्ठले भने।

नेपालको वैदेशिक रोजगार बोर्ड र मलेशियाको सामाजिक सुरक्षा हेर्ने निकायबीच सन् २०२० मा एउटा सम्झौता भएको थियो।

उक्त सम्झौतामा मलेशियामा कार्यरत रहेका बेला कामदारको अङ्गभङ्ग भए वा मृत्यु भएमा बिमा रकम पाउने उल्लेख गरिएको भुसाल बताउँछन्।

यद्यपि हालसम्म पनि धेरै कामदारले कार्यस्थलमा रहने समय वा कार्यस्थलमा भएका बखतका घटनाका लागि मात्र बिमा भुक्तानी पाउने गरेका छन्। तर कार्यस्थलबाट बाहिर निस्किएपछि बाटोमा दुर्घटना भए वा बस्ने स्थानमा केही भएमा त्यसको बिमा नहुने गरेको भुसाल बताउँछन्।"त्यसलाई मध्यनजर गरेर हामीले २४ घण्टा नै कामदारको बिमा हुनुपर्छ भन्ने प्रस्ताव गर्न लागेका हौँ," उनले भने।

दुई वर्षअघिको बोर्डसँगको सम्झौतामा मलेशियामा कार्यरत रहँदाका बखत कुनै कामदारको मृत्यु भएमा उसको परिवारले आजीवन पेन्सन पाउने कुरा पनि उल्लेख गरिएको उनी बताउँछन्। तर हालसम्म नेपालीहरूले मलेशियामा सोक्सो भनेर चिनिने सामाजिक सुरक्षासम्बन्धी निकायले त्यसलाई कार्यान्वयन नगरेको त्यहाँस्थित नेपाली कामदारहरू बताउँछन्।

त्यस्तै मध्येका एक हुन्- आठ वर्षदेखि मलेशियामा कार्यरत तथा हाल नेपाली कामदारका हकहितबारे काम गर्ने एक मलेशियाली गैरसरकारी संस्थासँग स्वयम्‌सेवकका रूपमा आबद्ध नवलपरासीका रमेशकुमार पञ्जियार।

मलेशियाबाट टेलिफोनमा बीबीसीसँग उनले भने, "मृत्यु भइसकेपछि क्षतिपूर्ति पाउनै पर्छ। कार्यस्थल बाहिर बिरामी पर्दा वा भित्र पर्दा पनि कम्पनीले बेहोर्नु पर्छ।"

"हामी कम्पनीमा आएकाले कम्पनी जिम्मेवार हुनुपर्ने हो तर कार्यस्थल बाहिर कुनै दुर्घटना भएमा कम्पनीले बेहोर्दैन अनि सोक्सो पनि दाबी गर्न मिल्दैन।"

अन्य विषय के-के छन्?

नेपाल र मलेशियाबीच सन् २०१८ एउटा श्रम समझदारी भएको थियो।उक्त समझदारी अनुसार सहसचिवस्तरीय एउटा संयुक्त कार्य समूह बनेको छ।नेपाल र मलेशियाबीच आलोपालो गरी उक्त समूहको बैठक गर्ने व्यवस्था गरिएको छ।यद्यपि कोभिडका कारण अवरुद्ध भएको उक्त समूहको बैठकलाई आगामी जुनभित्र गर्नेगरी त्यसका अजेन्डाबारे यसपाली छलफल हुने भुसालले बताए।

त्यस्तै उक्त समझदारीमा कामदारले कसैलाई पनि शुल्क नबुझाउने व्यवस्था गर्ने भनिएको छ।उक्त व्यवस्थाको हालसम्मको प्रगति र सुधार गर्नुपर्ने कुराबारे पनि बैठकमा छलफल हुने अधिकारीहरूको भनाइ छ।यसैगरी स्वास्थ्य परीक्षणको रकम कामदारले पहिलो महिनाको तलबसँगै पाउनुपर्ने भनी गरिएको व्यवस्थाबारे समेत बैठकमा छलफल गरिने भुसाल बताउँछन्।

कामदार मृत्युको कारणबारे छलफल

भुसालका भनाइमा भ्रमण दलमा सामेल श्रम सचिवले त्यहाँका आफ्ना समकक्षीका साथै मलेशियाको गृह मन्त्रालयका अधिकारीहरूलाई पनि भेट्नेछन्।मलेशियामा पछिल्ला वर्षहरूमा नेपाली कामदारको मृत्यु बढिरहेकाले त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर गृह मन्त्रालयका अधिकारीहरूसँग छलफल हुनेछ।

"नेपालीहरूको मृत्युको कारण के हो? त्यो प्राकृतिक हो कि होइन भन्नेबारे हामी चिन्तित छौँ," भुसालले भने।"त्यसबारे जान्न र मृत्युदर कम गर्नका लागि हामी गृह मन्त्रालयका अधिकारीहरूसँग छलफल गर्दैछौँ।"

उनका भनाइमा अनौपचारिक जानकारीका आधारमा अहिले मलेशियामा प्रति तीन दिनमा एकजना नेपाली कामदारको निधन भएको देखिन्छ।नेपाली कामदार पञ्जियारका अनुसार सन् २०२१ मा मात्र मलेशियामा करिब साढे पाँच सय नेपालीको कामदारको मृत्यु भएको थियो।वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मलेशियामा निधन भएका २८० जना नेपाली कामदारका परिवारलाई राहत उपलब्ध गराइएको छ। बिबिसिबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!