विद्यार्थीलाई छात्रवृति दिने सहमति कार्यान्वयन नगरेको भन्दै त्रिविमा नेविसंघको तालाबन्दी

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यार्थी संघले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेका छन् । यवस्थापन संकायका कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई शत प्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले तालाबन्दी गरेको हो ।

उनीहरुले आर्थिक अभावका कारण विद्यार्थीहरुमा गरिएको विभेद अन्त्य गर्न र महङ्गो कोर्स पढ्न नसक्ने विद्यार्थीका लागि छात्रबृति प्रदान गर्ने विषयमा संघ र त्रिविबीच २०७६ साल साउन २४ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

त्यस्तै उनीहरुले त्रिवि व्यवस्थापन संकायबाट सम्बन्धन प्राप्त सबै क्याम्पसको शूल्कमा एकरुपता ल्याउन माग गरेका छन् । त्यस्तै केही क्याम्पसले छात्रबृतिका नाममा २ देखि ५ लाखसम्म उठाउने गरेको भन्दै त्यस्ता क्याम्पसहरुको सम्बन्धन खारेज गरि आवश्यक कारवाही गर्न माग गरिएको नेविसंघ नेता दीपक ओझाले जानकारी दिए ।

सो क्रममा त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले विद्यार्थीहरुको मागका बारेमा आफू सकारात्मक भएको भन्दै सर्वपक्षीय छलफलबाट समस्या समाधान गर्ने बताए । विद्यार्थीहरुले व्यवस्थापन संकायको भर्ना सम्बन्धी कार्यविधि पालना नगरी सिम्याटको रिजल्ट अगावै भर्ना लिने क्याम्पसहरुलाई पनि कारवाही गर्न माग गरेका छन् ।

आफूहरुको मागका विषयमा २४ घण्टाभित्र कुनै सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!