राष्ट्रपतिकाे कार्यक्रम पाेखराका कांग्रेसी जनप्रतिनिधिकाे बहिष्कार

Posted on: 28 Mar, 2022

चैत १४, पाेखरा । पाेखरा महानगरपालिकाले आयाेजना गरेकाे न्यायिक समितिकाे राष्ट्रिय सम्मेलनलाई पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपुर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् ।

पोखरा महानगर वडा नम्बर ९ का कांग्रेसबाट विजयी वडाध्यक्ष रामराज लामिछानेले सम्मेलन पहिल्यै गर्नुपर्ने भए पनि हाल आएर स्वार्थ पूर्तिका लागि आयोजना गरिएको आरोप लगाए ।

कांग्रेस जनप्रतिनिधिको दलको नेतासमेत रहेका उनले भने, ‘न्यायिक समितिमा समेत कांग्रेसलाई सहभागी गरिएको छैन । त्यसमाथि अहिले गरिएको कार्यक्रमका लागि गठन गरिएका समितिमा पनि सहभागी गराइएको छैन ।’

न्यायिक सम्मेलन एमालेको चुनावी ‘फण्डा’मात्र भएको आरोप लगाउँदै उनले अगाडि भने, ‘यो कार्यक्रम पहिल्यै हुनुपर्थ्यो । अहिले आएर गरिनु चुनावी फण्डामात्र हो ।’

पोखरा महानगरमा कांग्रेसका ११ वडाध्यक्षसहित कुल ४७ जनप्रतिनिधि छन् । सम्मेलनमा न्यायिक समितिको घोषणापत्रसमेत जारी गर्ने तयारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!