म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकविरुद्ध सार्वजनिक अपराध तथा अभद्र व्यवहार मुद्दा

Posted on: 05 May, 2022

वैशाख २२, काठमाडौँ | म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १७ वर्षीय नवराज रेग्मीलाई प्रहरीले बुधबार २१ वैशाखमा पक्राउ गरेको थियो । 

उनीमाथि सार्वजनिक अपराध तथा अभद्र व्यवहार कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए । 

प्रहरी पोशाकको दुरूपयोग गर्नुका साथै लागु औषध दुर्व्यसनलाई प्रेरित गर्ने खालको अभिव्यक्ति दिएकाले सोही आधारमा अनुसन्धान थालिएको एसपी कार्कीले बताए । 

‘प्रहरी पोशाकको दुरूपयोग गर्नुका साथै लागु औषध दुर्व्यसनलाई प्रेरित गर्ने अभिव्यक्ति थियो । सार्वजनिक अपराध तथा अभद्र व्यवहार भएकोले त्यहीअनुसार अनुसन्धान थालेका छौं,’ एसपी कार्कीले न्युज कारखानासँग भने, ‘जिल्ला अदालत कपिलवस्तुबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ । अनुसन्धान गरेर मुद्दा दायर गर्छौं ।’ 

प्रहरीले उनका फुपुका छोरा पुरण भट्टराईलाई समेत नियन्त्रणमा लिएको छ । उनी स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी बनेका थिए । उनलाई आफ्नो ड्रेसको हिफाजत गर्न नसकेकोले नियन्त्रणमा लिएर उनीमाथि पनि अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।

‘आफ्नो ड्रेसको हिफाजत गर्न सक्नुपर्छ । त्यसमा दाइको सहमति र जानकारीमै उनले ड्रेस लगाएर भिडियो बनाएको देखियो,’ एसपी कार्कीले भने, ‘आफ्नो ड्रेसको दुरूपयोग गर्न दिन मिलेन । दाइलाई पनि प्रहरी हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ 

‘उनलाई ड्रेस लगाएर यसरी भिडियो बनाउन कसले प्रेरित गर्‍यो ? कसरी भयो ? लगायतका विषयमा अनुसन्धान गरिरहेका छौं,’ एसपी कार्कीले भने, ‘उनी लागु औषधका दुर्व्यसनी हुन वा होइनन् ? सेवन गर्ने हो भने के कुन सेवन गरिरहेका छन् ? कहिलेदेखि सेवन गरिरहेका छन् ? लगायतका विषयमा अनुसन्धान गर्छौं।’

प्रारम्भिक चरणमा उनको उमेर १८ वर्षभन्दा कम देखिएको एसपी कार्कीले बताए । म्यादी प्रहरीको पोशाक लगाएर नवराजले बनाएको सेल्फी भिडियो भाइरल बनेको थियो । उनले भिडियोमा भनेका थिए, ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी । माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!