केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक

Posted on: 27 Jul, 2021

साउन १४, मान्म (रासस)। कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । 

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म केबुलकार बनाउने लक्ष्य राखेको छ । नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म केबुलकार बनाउनका लागि रु ९४ करोड ४९ लाख ९१५ लागत लाग्ने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्पराज खड्काले जानकारी दिनुभयो ।

“यसको लम्बाइ दुई हजार १३४ मिटर र उचाइ ८२९ मिटर हुनेछ”, उहाँले भन्नुभयो,“प्रति सेकेन्ड ८ मिटर चल्ने र एक घण्टामा २०० जनाले वारपार गर्न सक्नेछन् ।” नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्मसम्म केबुलकारमा पुग्नका लागि १० मिनेटको समय लाग्ने डा खड्काको भनाइ रहेको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन, आवागमन र आर्थिक विकासका गतिविधिलाई टेवा पुग्ने गरी नीति तथा कार्यक्रममा कालीकोटको कोटवाडादेखि मान्मसम्म केबुलकार, सुर्खेत–सिद्धपाइला र मुगुको रारा–मुर्माटपलगायतका स्थानमा केवलकारको निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने लक्ष्य राखेको प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

कोटवाडामा विमानस्थल बन्दै गरेको र काम अन्तिम चरणमा रहेकाले विमानस्थल नियमित गर्नका लागि पनि केबलकार आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । 

केबुलकार सञ्चालनमा आएमा सो क्षेत्रका नागरिकको आर्थिक अवस्थामा परिवर्तन आउने प्रदेश सरकार भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापाले बताउनुभयो । “केबुलकार बनेमा पर्यटन क्षेत्र चलायमान हुन्छ । पर्यटन क्षेत्रबाट त्यहाँका नागरिकले आर्थिक लाभ लिन सक्छन्”, उहाँले भन्नुभयो,“चालू आर्थिक वर्षबाट नै केबुलकारको निर्माण प्रक्रिया अगाडि बढाइने छ ।”


यस बिषयमा तपाइको प्रतिक्रिया...!