इमर्जेन्सी कक्षमा कर्मचारीबाटै कुटिए कासका चिकित्सक

Posted on: 20 Aug, 2022

भदौ ४, काठमाडौं | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक जना चिकित्सकमाथि कुटपिट भएको छ । अस्पतालको आकस्मिक विभागमा कार्यरत डा.करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् ।


प्रतिष्ठानकै कर्मचारी शाही छोराको टाका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेका लागि बोलाएका थिए । सोही विषयमा उनीहरूबीच विवाद हुँदा शाहीले डाक्टरमाथि हातपात गरेको नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा. कमल थानीले जानकारी दिए ।

‘इमरजेन्सी वार्ड बिहानपख भीडभाड नै हुन्छ । डाक्टरले बच्चाको अवस्था नर्मल छ । हतार नगर्नुस्, म अहिले बिरामीसँग छु । ११ बजे हेरौंला भन्नुभएको रहेछ । तैले मेरो काम नगरेको भन्दै शाही डाक्टरमाथि नै हातपात गर्न थालेछन्,’ उपाध्यक्ष डा. थानीले भने ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले पनि कर्मचारीले चिकित्सकमाथि हातपात गरेको बताए । ‘सीसीटीभी फुटेजमा चिकित्सकमाथि हातपात भएको प्रष्टै देखिन्छ’ प्रवक्ता भट्टराईले भने, ‘कर्मचारीले डिउटीमा रहेका चिकित्सकमाथि हातपात गर्न नहुँने हो । घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।’

डा. साहले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित चिकित्सकले निवेदनसँगै सीसीटीभी फुटेज पनि प्रहरी प्रशासन कार्यालयमा पेस गरेका छन् । कर्मचारी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

घटना बिहीबारको भएपनि डाक्टर साहमाथि कुटपिट गरेको भिडियो भने शुक्रबार बेलुका सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियो शेयर गर्दै चिकित्सक कुटने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । शाहीको कुटाइबाट डा. साहको टाउको र पेटमा चोट लागेको छ ।

शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले डा. साहमाथि कुटपिट गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै आईसीयू, इमरजेन्सी र एनआईसीयू बाहेकको सबै सेवा बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!