जुम्लावासीको घर फर्कने क्रम सुरु

Posted on: 11 Mar, 2022

फागुन २७, खलङ्गा । हिउँदे याममा कुनै काम घरमा नहुने भएपछि घरखर्च चलाउनका लागि व्यापार गर्न र रोजगारीका लागि भारत पुगेका जुम्लावासी घर फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगञ्जको रुपैडिया नाका हुँदै जिल्ला फर्कने जुम्लावासीको घुइँचो लाग्न थालेको भारतको उत्तरखण्डको चमेली हुँदै घर फर्किनुभएका तिला गाउँपालिका–१का हिमाल रावतले जानकारी दिनुभयो ।

गाउँमा रोजगारीका अवसर नभएपछि कामका लागि यहाँका बासिन्दा भारतसम्म पुग्ने गर्दछन् । दसैँलगत्तै कालापहाड पसेका जुम्लावासी फागुन महिना लागेपछि घर फर्कन थालेका हुन् । “घरमै बसौँ रोजगारीका अवसर छैनन् । बेरोजगार भएर परिवार टुलुटुलु हेरेर बस्न सकिने अवस्था हुँदैन।” स्थानीयवासी विर्षबहादुर बुढाले भन्नुभयो, “कालापहाड रहर होइन, बाध्यता हो । हिउँदको सुक्खा याममा खेतीपातीका लागि कुनै काम हुँदैन । बालीनाली लगाउन फागुन महिनासम्म फर्किनुपर्छ । घर फर्कदा सीमानाकामा निकै सास्ती खेप्नुपरेको छ ।”  जिल्लाका आठवटै स्थानीय तहका युवा जनशक्ति कालापहाड जाने गरेका छन् । गाउँमा रोजगारीको कुनै अवसर छैन । कालापहाड जानुको विकल्प पनि छैन । 

कर्णालीका सबैजसो जिल्लाबाट मजदुरीका लागि कालापहाड जाने भएकाले  भारतका अधिकांश सहरमा कर्णालीवासी भेटिने गरेका छन् । प्रदेश सरकारले कर्णालीका जनताका लागि प्रदेशमै रोजगारी सिर्जना गर्नेमा कुनै चासो नदेखाएको नागरिक समाजका अगुवाले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!