गोठालो भत्ताका लागि २६५ किसानको आवेदन

Posted on: 31 Jan, 2022

माघ १७, खलङ्गा | जुम्लामा गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागी उनीहरुले आवेदन दिएका हुन् । 

पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो । कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाएको हो । कार्यालय प्रमुख गोविन्द महतका अनुसार छनौट प्रक्रिया अघि बढाइएको छ । सो विषयमा जानकारी लिन कर्मचारी किसानको घरघरमा खटाइएको छ । प्रतिवेदन आएपछि भत्ता वितरण गरिने महतले बताउनुभयो । 

पचासभन्दा बढी भेडा पाल्ने किसानलाई मासिक रु एक हजार ५०० का दरले वितरण गरिनेछ । जिल्लाका १५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम छ । रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ । उक्त कार्यक्रमका लागि रु ७२ लाख विनियोजन गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!