जैविक सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिने

Posted on: 23 Jun, 2021

असार ९, खलङ्गा (रासस)। जुम्लाको जैविक (अग्र्यानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ । अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको बताउनुभयो । 

क्यानडास्थित लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पनीले जुम्ली उत्पादन लिएको हो । मार्सी चामल, कोदो र सिमीको कार्टुनमा नेपाली झण्डा अङ्कित लोगो राखिएको छ । लेबलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्थाले गरेको हो । 

यहाँको  सिञ्जा क्षेत्रबाट १३ र तातोपानी गाउँपालिका–४ गिडीखोलाबाट एक टन मार्सी काठमाडौँ पुगाइएको थियो ।  पहिलोपटक जुम्ली उत्पादन क्यानडा निर्यात भएपछि स्थानीयवासी निकै खुशी छन् । स्थानीयवासी जीवनबहादुर खत्रीका अनुसार स्थानीय उत्पादन क्यानडा निर्यात भएपछि किसानमा हौसला थपिएको बताउनुभयो । अहिले किसानले खेतीयोग्य जमीनको उपयोग गर्न थालेका छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!