प्रदेश १ मा आज सभामुख चयन, एक जनाले मात्र गराए मनाेनयन दर्ता

Posted on: 12 Jan, 2023

पुस २८, माेरङ | प्रदेश १ मा बिहीबार प्रदेशसभा सभामुखका लागि निर्वाचन हुँदैछ।

सभामुखको लागि निर्वाचन समय ११ बजे तोकिए पनि हालसम्म उम्मेदवारी मनोनयन दर्ता नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमको मात्र परेको प्रदेशसभाका प्रवक्ता चन्द्रमणि पोखरेलले बताए।

बिहानबाट राजनीतिक दलको बैठक बसिरहेको बताउँदै प्रवक्ता पोखरेलले सभामुखमा चयन गर्ने घोषणा औपचारिक रूपमा प्रदेशसभाको बैठकले गर्ने जानकारी दिए।

प्रदेशसभा सचिवालयका अनुसार गौतमलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन्।

नेकपा एमाले नेतृत्वको सरकारमा रहेको नेकपा माओवादी, राप्रपा र जसपामा माओवादी केन्द्रको भागमा सभामुख परेको छ।

सभामुखमा गौतमलाई सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलको समर्थन रहेको छ। गौतम प्रदेश सभा निर्वाचनमा ओखलढुंगाको क्षेत्र नम्बर १ को २ बाट निर्वाचित भएका हुन्।

उपसभामुखका लागि ३० गते हुने निर्वाचनमा एमाले र प्रतिपक्षी दलबीच स्पर्धा हुनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!