खुला दिसामुक्त झापाको दुर्दशा : नगरपालिकाले शौचालय बनाउन सहयोग गर्‍यो, अनुगमन गरेन

Posted on: 05 Oct, 2021

असोज १९ , झापा, न्युज कारखाना। गौरादह- २ दहलुकी बालख हेमरमलाई खुला ठाउँमा दिसा नगर्न भन्दै शौचालय निर्माणका लागि स्थानीय तहले रिङ र प्यान दियो । तर, नगरपालिकाले शौचालय बनाउन भने सहयोग गरेन । 

सामग्री पाए पनि निर्माणमा सहयोग नगर्दा उनले हालसम्म शौचालय बनाउन सकेकी छैनन् । ‘प्यान र रिङ दिएको दुई-तीन वर्ष भयो तर चर्पी बनाउन सहयोग गरेन । घरको मान्छे त्यही बेला बिरामी हुनुभयो’, उनले भनिन्, ‘बनाउनलाई पैसा थिएन । बनाउन सकिएन ।’ उनको परिवार अहिले पनि अर्काकै शौचालय प्रयोग गरिरहेको छ । 

दहलुकै सीता हेमरमसँग घरमा शौचालय भएको कार्ड छ । तर, उनीसँग शौचालय छैन । गौरादह नगरपालिकाले रिङ र प्यान दियो । उनले रिङ र प्यान गाडेकी पनि छन् । तर, शौचालय बारबेर गरेकी छैनन् । अहिलेसम्म उनको शौचालय प्रयोगमा आएको छ । ‘टाटी लगाएर बारबेर त गरेको थिएँ’, उनी भन्छिन्, ‘बर्खामा सबै भत्कियो । अहिले बनाउनलाई पैसा छैन ।’

उनको परिवार अहिले पनि खेत र झाँडीमा खुला दिशा गर्दै आएको छ । ‘कहिले खोला-खोल्सी जान्छौँ’, सीता भन्छिन्, ‘नभएपछि के गर्ने त !’ 

झापालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाले सत प्रतिशत शौचालय बनेरै खुला दिशामुक्त जिल्ला घोषणा गरिएको जनाएको छ । तर, पछिल्लो समय सरसफाइमा कम बजेट आउँदा जनचेतनाको कार्यक्रम गर्न नसकिएको डिभिजन प्रमुख सयनकुमार श्रेष्ठले जानकारी दिए । 

गौरादह नगर प्रमुख रोहितकुमार साहले नगरपालिकाभित्र विपन्नलाई शौचालय निर्माणका लागि लाखौँ खर्च गरेको दाबी गरे । उनले जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको बताए । तर, केही विपन्न नागरिकले भने शौचालय प्रयोग नगरेको उनी स्वीकार गर्छन् । ‘५०औँ लाख खर्चेर हामीले विपन्नको शौचालय निर्माण गरिदिएका छौँ । जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएका छौँ । अहिले पनि केही घरहरूमा तराई-मधेस समृद्ध कार्यक्रमअन्तर्गत शौचालय निर्माणको तयारी भइरहेको छ’, उनले भने, ‘यद्यपि, हामीले प्रयास गरिरहँदा पनि केही समस्या भने आएका छन् । केही दिन शौचालय प्रयोग गर्ने र पछि परंपरागत रूपमा बाहिर जाने गरेको देखिएको छ । खोला किनार धाद्रो भएको ठाउँमा जाने अवस्था छ । चेतना कम भएर हो कि अझै पनि हामीले दायरमा ल्याउन सकिरहेका छैनौँ । तर, पनि हाम्रो प्रयास जारी छ । अधिकांश घरहरूमा शौचालय छ ।’

सरकारले झापालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरे पनि दक्षिणी क्षेत्रमा अधिकांशले शौचालयको रूपमा खोला खोल्सा नै प्रयोग गर्दै आएका छन् । खुला दिशामुक्त क्षेत्र घोषणापछि पर्याप्त जनचेतनामूलक कार्यक्रमहरू नगर्दा अधिकांश अहिले पनि खुला रूपमा दिसा-पिसाब गर्दै आएका छन् । घरमा शौचालय भए पनि केहीले प्रयोग नै गर्दैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!